झापा, भदौ २२ । नेत्रहीन युवा संघ नेपाल झापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अपाङ्गतामैत्री र पहुँचयुक्त बनाउनु पर्ने १५ बुँदे माग अघि सार्दै जिल्ला निर्वाचन कार्यालय झापालाई ज्ञापनपत्र बुझाएको छ ।

नेत्रहीन युवा संघ नेपाल झापा शाखाका अध्यक्ष दिलकुमार राजवंशीको नेतृत्वमा पुगेको टोलीले बुधवार जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपाललाई सो मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ,‘ समावेशी सूचीबाट प्रतिनिधित्व गराउँदा उनीहरूको पहिचान स्थापित हुने परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरी अपाङ्गता भएको व्यक्तिहरू पनि संसदमा प्रतिनिधित्व हुने सुनिश्चित गराउनुपर्ने, मतदान केन्द्रमा ह्विलचियर प्रयोगकर्तालाई सजिलैसँग मतदान गर्न ह्विलचियर गुडाउन पर्याप्त ठाउँ बनाइनु दिनुपर्ने, न्यून दृष्टियुक्त व्यक्तिहरूका लागि मतदान केन्द्रमा पर्याप्त उज्यालो हुनुपर्ने र मतपत्रमा रहेका चिन्हहरू प्रस्ट रुपमा देखिने मत पत्रको रङ्ग हुनु पर्ने र म्याग्रिफाईङ ग्लासको व्यवस्था हुनुपर्ने, दृष्टिविहीन व्यक्तिहरूका लागि छामेर मतपेटिकामा मतपत्र खसाल्नका लागि मतपेटिकामा ट्याक्टाइल स्टिकर टाँस्नुपर्ने, ब्रेन लिपी र ठुला छापमा मतपत्र निर्देशिका निर्माण गर्नुपर्ने, हातसम्बन्धी शारीरिक अपाङ्गता भएका मतदाताका लागि मतपत्र लिँदा हस्ताक्षर गर्न समात्न सजिलो हुने ठुलो कलमको व्यवस्था गरिनुपर्ने र सुनाईसम्बन्धी अपाङ्गता भएका मतदाताका लागि मतदान केन्द्रमा साङ्केतिक भाषाका दोभासेहरू उपलब्ध गराउनुपर्ने, मतदान निर्देशिकामा अपाङ्गतासम्बन्धी विषय समावेश गरी मतदान गराउने कार्यमा खटिने कर्मचारीका लागि अपाङ्गता भएका मतदातासँग गर्नुपर्ने व्यवहारबारे तालिमको व्यवस्था अनिवार्य गराउनुपर्ने माग उल्लेख छ ।

त्यस्तै मतदानको दिन अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान केन्द्रसम्म पुर्याउन निर्वाचन आयोगले घरबाट मतदान केन्द्र र मतदान केन्द्रबाट घरसम्म ल्याउने र पुर्याउने व्यवस्था मिलाउनुपर्ने, निर्वाचन पर्यवेक्षकका रुपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागी गराउन निर्वाचन पर्यवेक्षक निर्देशिकामा संशोधन गर्नुपर्ने, पर्यवेक्षण फारममा निर्वाचन पहुँचयुक्त रह्यो– रहेन भन्ने विषयसम्बन्धी प्रश्नहरू समावेश गराउनुपर्ने, मतदाता शिक्षा गतिविधिमा अपाङ्गता भएका व्यक्तिहरू र संस्थालाई सहभागी गराउनु पर्ने, अपाङ्गता भएका व्यक्तिहरूलाई इच्छाएको स्थानबाट मतदान गर्ने व्यवस्था मिलाउनुपर्ने र निर्वाचनमा सहभागी अपाङ्गता भएका मतदाताको लगत राख्ने व्यवस्था मिलाउनुपर्नेलगायतका माग ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै निर्वाचन प्रमुख नेपालले प्राप्त भएको ज्ञापनपत्र निर्वाचन आयोगबाट बुधवार नै पठाउने बताए । उनले जिल्ला तहबाट अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा उठाइएको माग सम्बोधन गर्न प्रतिबद्धता समेत व्यक्त गरेका छन् । जिल्लामा १० हजारबढी अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्