बिर्तामोड,भदौ २६ । बिर्तामोड नगरपालिकाले नगर अस्पताल भवन निर्माण कम्पनीलाई चेतावनी दिएको छ ।


भवन निर्माण कम्पनी धुलिखेल निर्माण सेवा प्रा.लिलाई नगर अस्पताल भवन निर्माण गर्न गरेको सम्झौता मिति सकिँदासमेत काम सम्पन्न नभएका कारण नगरपालिकाले आइतबार चेतावनीसहितको पत्र काटेको हो । पत्रमा ३ दिनभित्र कार्यप्रगति नदेखिए सार्वजनिक खरिद ऐन २०६४ अनुसार धरौटी जफत गरि कारवाही प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।

भवन २०७९ साल असार १ गते सम्पन्न गर्नेगरी सम्झौता भएकोमा तोकिएको समयभित्र काम सम्पन्न गर्न पटकपटक लिखित तथा मौखिक जानकारी गराउँदासमेत कार्यप्रगति नदेखिएपछि यस पटक अन्तिम पत्र काटेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । उनले ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेका कारण समयमा काम सम्पन्न नभएको बताए ।

भवनमा प्लोरिङ, इलेक्ट्रिसिटी,झ्यालढोका, रंगरोकन, प्लम्बिङलगायतका काम बाँकी रहेको नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए । धुलिखेल निर्माण सेवा प्रा.लिले २०७७ साल असार ८ गते भवन निर्माणका लागि ५ करोड ५० लाख ७ हजार ७६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्