बिर्तामोड , भदौ २६ । बिर्तामोडका पुराना बासिन्दालाई सतानुसिंह राजवंशीका बारेमा भनिरहन जरुरी हुँदैन । तर नयाँ बसोबासीका लागि नौलो लाग्न सक्छ । त्यही भएर बिर्ताबजारका दानवीर तथा समाजसेवी सतानुसिंह राजवंशीको योगदानलाई उनीहरुले संझिन सकेका थिएनन् ।

ऐतिहासिक सतानुबारीलाई टोल विकास संस्थाको नाम दिन सकेका थिएनन् । सतानुको पुरानो ठाउँलाई सैनिकमोड टोल विकास संस्था राखिएको थियो ।

तर , अहिले आएर त्यस टोलको नाम परिवर्तन गरी सतानु सैनिकमोड टोल विकास संस्था राखिएको छ । सैनिकमोड टोल विकास संस्थाको आइतवार भएको प्रथम अधिवेशनले नाम परिवर्तन गरी सतानु सैनिकमोड टोल विकास संस्था राखेको हो । अधिवेशनले टोलको नाम परिवर्तन गरी नयाँ कार्यसमिति समेत चयन गरेको छ । चिरञ्जिवी ओलीको अध्यक्षतामा गठन भएको टोल विकास संस्थाको उपाध्यक्षमा रामेश्वर मण्डल , सचिव श्रीप्रसाद न्यौपाने र कोषाध्यक्षमा सीता प्रसाई पाठक रहेका छन् । त्यस्तै सदस्यहरुमा बसन्ती दास ,कमला थापा ,राज मुखिया , भुपाल राजवंशी र भवेन्द्र ढकाल रहेका छन् ।

बिर्तामोड नगरपालिका ३ नं वडा कार्यालयका सचिव भीम अधिकारी संयोजक तथा इन्द्रसिंह राजवंशी र हिमाल मैनाली सदस्य रहेको निर्वाचन मण्डलीले सर्वसम्मत रुपमा सो समिति चयन गरेको हो । टोल विकास संस्थाका अध्यक्ष श्रीप्रसाद शिवाकोटीको अध्यक्षतामा गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले विगतको इतिहास र योगदानलाई हराउन नदिन दुवै ऐतिहासिक नामलाई जोडेर टोलको नाम राखिएको बताए । उनले त्यसबाट सबैको पहिचान कायम भएको धारणा राखे ।

गत वर्ष नै राजवंशी समुदायका तीनवटा जातीय संस्थाले सतानुबारी टोल र सतानु चौक नामकरण गर्न वडा कार्यालयसँग माग गरेका थिए । राजवंशी विकास प्रतिष्ठान झापाको अगुवाइमा गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठान र राजवंशी समाज विकास समिति बिर्तामोडले तत्कालीन वडाध्यक्ष भोजराज सिटौलालाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका थिए । तीनपल्ट प्रधानपञ्च भएका सतानुसिंह राजवंशी राजनीतिक , आर्थिक , सामाजिक हरेक क्षेत्रले निपुण रहेको स्मरण गराउँदै उनको ख्याति र योगदानकै आधारमा त्यस ठाउँलाई सतानुबारी भन्ने गरिएकोमा निकै वर्षपछि सतानुबारीलाई सैनिकमोड बिगारेर अहिले सतानु राजवंशीको घर भएको ठाउँलाई दरबार चोक भन्न थालिएकोमा ती संस्थाहरुले दुख व्यक्त गरेका थिए । सतानुको योगदानलाई कदर गरी आदिवासी राजवंशीको भावनालाई ढिलै भएपनि वडा कार्यालयले संबोधन गरेकोमा स्थानीयबासी नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडका अध्यक्ष राजकुमार राजवंशीले प्रतिक्रिया दिए ।

वडा सचिव अधिकारी र टोल विकास संस्थाका सचिव मोहनप्रसाद उप्रेतीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य दिलकुमार नेम्बाङले गरेका थिए । कार्यक्रममा अध्यक्ष श्रीप्रसाद शिवाकोटीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीता सिटौला पाठकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पुण्यप्रसाद प्रसाई , कृष्ण राजवंशी ,राजकुमार राजवंशीलगायतले मन्तव्य राखेका थिए ।

१ प्रतिक्रिया

  1. सतानु मोड राख्दा सुन्न लेख्न सजिलो हुनेथियो ! परापुर्वकाल देखि स्थानिय जातिको भाषामा राखिएको नामहरु क्रमिम रुपमा ध्वस्त पार्दै केहि नश्लिय मित्रहरुले आफ्नै अनुसारको नाम राख्ने गरेकोछ !
    अन्धुवा खोलालाई अदुवा पारिएकोछ !
    अब सतानु पैनिलाई पनि मुर्तरुप दिनुपर्छ !

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्