बिर्तामोड , भदौ २७ । बिर्तामोड नगरपालिकाले चार दिनअघि एउटा सार्वजनिक सूचना जारी गर्यो । जुन सूचना पढेर बिर्तामोडबासीमा खैलाबैला नै मच्चियो ।

सूचनामा बिर्तामोड नगरपालिकाले सार्वजनिक पैनी , कुलो र सडक क्षेत्र अतिक्रमण गरी अनाधिकृत रुपमा निर्माण गरिएका भौतिक संरचना भत्काउने उल्लेख थियो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी ती अनाधिकृत संरचना हटाउन १५ दिनको अल्टिमेटम दिएको थियो । त्यस सूचनाको बेवास्ता गरी भौतिक संरचनाहरु नहटाएमा कानून बमोजिम कार्वाही प्रक्रिया अघि बढाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेद्वारा जारी सूचनामा उल्लेख थियो ।

बिर्तामोड नगरपालिकामा सार्वजनिक पैनी , कुलो र सडक क्षेत्र अतिक्रमण गरी धेरै घर निर्माण भएका छन् । काठमाडौंमा बालेन शाहले भत्काएजसरी बिर्तामोड नगरपालिकाले पनि सबै सार्वजनिक जग्गा खाली पो गराउने हो कि भनेर जग्गा अतिक्रमण गर्नेहरु आतिए । बुझ्दै जाँदा नगरपालिकाले मेची आँखा अस्पतालको दक्षिणपट्टी बिर्तामोड– भद्रपुर सडकको क्षेत्रसम्म व्यवसायीहरुले ट्रस बनाएपछि त्यसलाई लक्षित गरी सूचना जारी गरेको रहेछ । त्यहाँ करिब १२ जना व्यवसायीहरुले सडक क्षेत्र मिचेर सडकको पेटीसम्म ट्रस बनाएका छन् । त्यस्तै बिर्तामोड १० सैनिक बजारमा रहेको पैनीमा बनाइएका टहराहरुलाई हटाउन सो सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । सैनिकबजारस्थित उत्तर–दक्षिण सडकको पूर्वपट्टिको पैनीमा करिव २३ जनाले वर्षौदेखि टहरा बनाएका छन् । नगरपालिकाले ती टहरालाई पनि हटाउने योजना बनाएको हो । त्यस्तै बिर्तामोडबाट भद्रपुरतर्फ जाने सडकमा मुक्तिचोक दक्षिण व्यवसायीहरुले सडक क्षेत्र मिचेर पसल अगाडि ट्रस बनाएकाले ती संरचना पनि हटाउने कार्यपालिका बैठकले निर्णय गरेको न्यौपानेले जानकारी दिए ।

कार्यपालिका बैठकका सहभागीहरुले बिर्तामोडमा अतिक्रमण गरिएका सम्पूर्ण कुलो, पैनीको जग्गा खाली गराउनु पर्ने प्रस्ताव गरेको कार्यपालिका सदस्य तथा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले बताए । उनले बैठकमा सतानु पैनीलगायतका अन्य कुलो , पैनीको जग्गा खोजेर त्यहाँ अतिक्रमित सबै संरचनाहरु हटाउनु पर्ने माग गरिएको जानकारी दिए । नगरपालिकाले सूचना सम्पूर्ण नगरभरिका लागि निकालेजस्तोे मात्र ग¥यो । तर, त्यो सैनिकमोड र सैनिकबजारका लागि मात्र हो ।‘हामीले सैनिकमोड र सैनिकबजारको अतिक्रमण हटाउनका लागि कार्यपालिका बैठकमा निर्णय गरेका छौं ’ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने , ‘ सूचनामा चाहिँ नगरभरिकै उल्लेख भएछ ।’
न्यौपानेद्वारा बुधवार जारी सूचनामा भनिएको छ,‘बिर्तामोड नगरक्षेत्रभित्र रहेका बिभिन्न पुराना सार्वजनिक पैनी तथा कुलोहरुमा अनाधिकृत रुपमा भौतिक संरचनाहरु निर्माण गरी पानी निकास अवरुद्ध गरेको पाईनुका साथै विभिन्न सार्वजनिक सडकहरुको क्षेत्र समेत अतिक्रमण गरी अनाधिकृत रुपमा भौतिक संरचनाहरु बनाई बसोबास गरिरहेको पाईएकाले त्यस प्रकारका कार्यहरु तुरुन्त बन्द गरी अनाधिकृत रुपमा निर्माण गरिएका भौतिक संरचना सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र हटाई सार्वजनिक सम्पत्तिको संरक्षण तथा संबद्र्धनमा सहभागी हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सूचनाको बेवास्ता गरि भौतिक संरचनाहरु नहटाईएमा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाईने व्यहोरा समेत यसै सूचनामार्फत् जानकारी गराईन्छ ।’

सतानु पैनीको यस्तो छ नालीबेली
अव्यवस्थित शहर बिर्तामोडको विकासमा पानीको निकास बाधक बनेको छ । साविक पानीको निकास बन्द गरिँदा जटिल समस्या थपिदै गएको हो । नगरबासीहरु वर्षेनि डुबानको समस्यामा पर्छन् । बिर्तामोडका धेरै घरहरु वर्षायामभरि डुबेर बस्नुपर्ने अबस्था छ । पानीको उचित निकास दिन नसके त्यो समस्या अझ विकराल बन्ने निश्चित छ ।

गाउँ विकास समितिबाट नगरपालिका बनेको बिर्तामोडलाई गाउँबाट छिट्टै शहर बन्ने मौका मिल्यो । शहरको रुप लिएपनि व्यवस्थित नगर बन्न सकेन । जसको परिणाम अहिले नगरपालिका र नगरबासीहरुले भोग्दै आएका छन् । वर्षौ अघिदेखिको कुलो, पैनीलाई मासेपछि बिर्तामोडमा पानी निकासको समस्या आएको हो । सतानु पैनीका बारेमा धेरैलाई थाहा नहुन सक्छ । अन्धुवा खोलाजस्तै पानी निकास र सिंचाईको लागि त्यो पैनी निकै उपयोगी रहेको थियो ।

हालको बिर्तामोड नगरपालिका वडा नं ५ , ४ र ३ भएर बग्ने सो पैनी वडा नं ९ सम्म पुगेर टुंगिएको थियो । बिर्तामोडको मुक्ति चौक उत्तर अग्रसेन भवनदेखि बिर्तामोड ९ को नरियाबारीसम्म पैनीको साविक वहाव रहेको थियो । तर, अहिले त्यस सतानु पैनीको नामोनिशान छैन । पुरानो लाली गुराँस होटलदेखि उत्तरबाट शुरु भएको पैनी ट्राफिक प्रहरी कार्यालय , प्रसाई सुपर मार्केट, हिकोला होटल हुँदै पूर्व—पश्चिम राजमार्ग क्रस गरी दक्षिणतर्फ बग्ने गरेको थियो । राजमार्ग दक्षिणमा संगम स्वीट्स, कुमारी बैंकको पूर्वपट्टि पुरानो भद्रपुर रोडको छेउबाट बग्दै दक्षिण झर्ने गरेको थियो । पुरानो भद्रपुर रोड पूर्वपट्टिबाट बग्दै भुपेन्द्रसिंह राजवंशीको जग्गाको सिमानासम्म कायम रहेको पैनी बिर्ताबजारदेखि पूर्व आनन्दगञ्ज जाने बाटोदेखि दक्षिण विराटज्योति बोर्डिङको बाटो हुँदै शुभलक्ष्मी टोलतर्फ बग्ने गरेको थियो ।त्यस टोलभन्दा अझ दक्षिण बिर्तामोड ३ को मुसहरबस्ती पूर्व हुँदै नरियाबारीसम्म पैनी रहेको थियो । २०२१ सालको नक्सालाई हेर्दा साविक अनारमनीको २,३ र ७ नं वडामा सो पैनी कायम रहेको देखिन्छ । सर्पट नापीको नयाँ नक्सामा पनि पैनी कायम छ । हालको नयाँ नक्सालाई हेर्दा सिट नं १७९—१६० मा पैनीलाई कायम राखिएको हो । तर , शिरदेखि पुछारसम्मको पुरै पैनी नक्सामा कायम छैन । कतिपय ब्यक्तिले यसलाई आफ्नो नाममा नम्बरी बनाइसकेका छन् । करिव दुई प्रतिशत पैनीको भूभाग मात्र अस्तित्वमा छ । अधिकांश भाग अतिक्रमण भइसकेको छ । पैनीको सार्वजनिक जग्गा मासेर त्यसमा ठूलठूला भवनहरु निर्माण गरिएका छन् ।

त्यस्तै कतिपय ठाउँमा पैनी मिचेर प्लटिङका लागि बाटो निर्माण गरिएको छ । विराटज्योति बोर्डिङ जाने बाटो पैनी मिचेरै बनाइएको हो भने शुभलक्ष्मी टोलको प्लटिङको बाटो पैनीकै जग्गामा निर्माण गरिएको छ । करिव साढे तीन किलोमिटर लम्बाई र ३०देखि ४० फुट चौडाई रहेको सतानु पैनी सबै मासिसकेको छ । सर्पट नापीले धेरै ठाउँमा पैनीलाई नम्बरी बनाइदिएको छ । नापी टोली आउनुअघि नक्सामा कायम रहेको पैनीलाई सर्पटले हालसाविक गरी नम्बरी बनाइदिएको बिर्तामोड नगरपालिका वडा नं ५ का निवर्तमान वडाध्यक्ष राजेन्दप्रसाद्र लिङ्देन बताउँछन् । कतिपयले पैनीमाथि बनाएको आफ्नो घरको नक्सा पास गरिसकेको उनले बताए । हालको बिर्तामोड ५ मा पैनीको जग्गा अतिक्रमण गरी सबैभन्दा बढी निजी संरचना निर्माण गरिएका छन् । वडा नं ४ र ३ मा पनि घर र बाटो बनाएर पैनी मासिएको छ ।

भोगचलन एउटाको स्रेस्ता अर्काको
सतानु पैनीमा सुकुम्बासी र गैरसुकुम्बासी गरी धेरैले संरचना निर्माण गरेका छन् । तर, त्यसको धनीपूर्जा तारानिधि तिम्सिनाको नाममा रहेको पूर्व जनप्रतिनिधि गोपी गिरी बताउँछन् । सतानु पैनीको १ विगाह १४ कठ्ठा जग्गा तिम्सिनाले आफ्नो नाममा पारेको गिरीले जानकारी दिए । आफूहरु २०५४ सालमा जनप्रतिनिधि हुँदा तिम्सिनाको नामबाट सतानु पैनीको जग्गा फिर्ता गर्न लगाएपनि पछि तिम्सिनाले सर्वोच्च अदालतमा गएर फेरि आफ्नो नाममा पारेको गिरीको भनाई छ ।

सतानु पैनी खोल्न माग
पानीको निकासको समस्या भएर डुबान भएपछि बिर्तामोडबासीहरुले सतानु पैनी खोल्न पटकपटक माग गरेका छन् । घरहरु डुबानमा परेपछि बिर्तामोड ४ का सयभन्दा बढी घरधनीले गत वर्ष सतानु पैनी खोल्न माग गर्दै वडा कार्यालयमा निवेदन दिएका थिए । त्यसको अगुवाइ आदर्श टोल, पौरखी टोल , सद्भाव टोललगायतका ८ वटा टोल विकास संस्थाले गरेका थिए । ती निवेदनसहित सिफारिस वडा कार्यालयले गत चैत ४ गते नगरपालिकामा बुझाएको थियो । त्यस निवेदनउपर संघीय सासद पवित्रा खरेल, प्रदेश सांसद एकराज कार्की सहितको उपस्थितिमा नगरपालिकामा छलफल भएपनि पैनी खोल्ने कुरामा कुनै निर्णय नभएको वडा नं ४ का निवर्तमान वडाध्यक्ष कुलप्रसाद संग्रांैलाले बताए । नक्सामा भएको सार्वजनिक सतानु पैनी खोल्नु पर्छ भन्ने सोच बनाएको बिर्तामोड नगरपालिकाले पैनी खोल्ने आँट गर्न नसकेको हो । अर्को कुरा नखोली सुख पनि छैन । किनकि पानीको निकास नखोलिए आगामी दिनमा अझ समस्या थपिदै जानेछ ।

बिर्तामोडका आधाजति घर कुलो पैनीमा
बिर्तामोडका आधाजति घर कुलो पैनीमा निर्माण भएका छन् । बिर्तामोडमा सतानु पैनीसंगै अन्य आधा दर्जन कुलो पैनी रहेका थिए । बिर्तामोडको मेगा कम्प्लेक्स रहेको ठाउँमा पैनी थियो । धनराज योङहाङको घर हुँदै उत्तर दक्षिण बग्ने पैनी थियो । होटल कोहिनुर भएको ठाउँमा पनि पैनी थियो । बिएण्डसी हस्पिटल अगाडि नरेश खरेल , कमल पौडेलको घर भएको ठाउँमा पनि पैनी थियो । अहिले बोलबम पम्प भएको स्थानमा पनि पैनी थियो । बिर्तासिटी हस्पिटल पूर्व पनि पैनी थियो । त्यस्तै टावर टेम्पल स्कुलदेखि दक्षिण बग्ने पैनी रहेको थियो । ती सबै कुलो, पैनी मासिएका छन् । जसलाई बिर्तामोड नगरपालिकाले खोज्न जरुरी छ । वर्षौदेखिको भोगचलन रही ठूलठूला संरचना निर्माण गरिएकाले अहिलेका जनप्रतिनिधिहरुले बिर्तामोडका कुलो, पैनीको जग्गा खाली गराउन नसक्ने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए ।‘बालेनजस्ता जनप्रतिनिधि निस्किए भने कुनै दिन बिर्तामोडको कुलो पैनीको अतिक्रमित जग्गा खाली हुनसक्छ’ उनले भने ,‘ तर अहिले नै खाली गर्ने संभावना म देख्दिनँ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्