बिर्तामोड , भदौ २७ । भद्रपुरबाट केचना जाने सडकखण्डअन्तर्गत पृथ्वीनगरको देउनिया खोलाको पुलमा आमाछोरीलाई सोरेर ट्रक खोलामा झरेको छ ।

दुर्घटनामा परी पुलमा हिड्दै गरेकी भद्रपुर ९ गैरीगाउँ बस्ने वर्ष २३ की तुलसा खवास भुजेलको मृत्यु भएको हो । उनकी २ वर्षकी छोरी लुकुसा तामाङ गंभीर घाइते भएकी छन् । आमा तुलसालाई ट्रकले सोरेर लैजाँदा उनी उछिट्टिएकी थिइन् ।

इटा बोकेर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रेम इटाभट्टा उद्योगको प्र१–०१–००–१ख३६५९ नम्बरको ट्रक पुलको रेलिङ भत्काएर खोलामा झरेको हो । दुर्घटनामा ट्रकमा सवार बिर्तामोड २ बस्ने वर्ष २४ को अनिल हस्दा , सोही ठाउँ बस्ने वर्ष ५२ को बुधलाल राजवंशी घाइते भएका छन् ।

दुर्घटना गराउने ट्रक चालक पाँचथर हिलिहाङ का २४ वर्षिय यागेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुलाई मेची अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकी बिर्तामोडको बिएण्डसी हस्पिटलतर्फ ल्याइदै गरेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण ट्रक अनियन्त्रित भई आमाछोरीलाई सोरेर खोलामा झरेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्