झापा , भदौ २८ । माथिबाट पहिरो फुटेर पहिरो झरेपछि मंगलबार बिहानदेखि अवरुद्ध मेची राजमार्गको ताप्लेजुङ-पाँचथर सडक खण्ड दिउँसो एक बजेदेखि खुलेको छ ।

बिहान ८ बजेदेखि सुरु भएको पहिरो पन्छाउने काम दिउँसो सकिएसँगै एकतर्फी यातायात सञ्चालनमा आएको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए । ताप्लेजुङ र पाँचथर जोड्ने कावेली नदीमा बनाइएको पुल नजिकै पहिरो झरेको थियो । यो पाँचथरको हिलिहाङ गाउँपालिकामा पर्छ । ५० मिटर जति लामो पहिरो झरेपछि सडकले स्काइभेटर मेसिन लगाएको थियो । दुईतिरबाट खोल्दा छिटो हुने भए पनि ताप्लेजुङतर्फबाट मेसिन लगाउने ठाउँ नभएकाले एकतर्फी प्रयोग गरेर खुलाइएको हो । बिहान छुटेका सवारी साधनहरू दिउँसोसम्म यहीँ रोकिएका थिए । यही ठाउँमा अब तत्काल अवरोध हुने अवस्था नभएको उप्रेती बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्