झापा , भदौ २९ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ अल्छेढुंगामा निर्माण सुरु गरिएको आदिवासी जनजाति संग्रहालय भवन खण्डहर बनेको छ ।

दल संलग्न उपभोक्ता समिति मार्फत १२ वर्ष अघि यसको निर्माण सुरु भएको हो । तत्कालीन जिल्ला विकास समितिद्वारा विनियोजित १३ लाख ८३ हजार रुपैयाँ अनियमितता भएपछि भवन निर्माण अलपत्र परेको छ । उपभोक्ता समितिका अध्यक्ष जयबहादर राई र कोषाध्यक्ष रामकुमारी राईको हस्ताक्षर किर्ते गरी भवन निर्माणमा संलग्न विष्णुराज राईले बैंकबाट रकम झिकेको भन्दै विवाद भएको थियो । त्यस पछि कोषाध्यक्ष राईले जिल्ला प्रशासन मार्फत विष्णुराज विरुद्ध अख्तियारमा उजुरी दिएकी थिइन् । राष्ट्रिय वाणिज्य बैंक शाखा दिक्तेलमा रहेको चल्ती हिसाब नम्बर २५८३ को रकम पटक-पटक गरी निकालिएको उजुरीमा उल्लेख छ । राईले गुणस्तरहीन भवन निर्माण गरिएकाले आफूले रकम निकासा गर्न नमानेको बताइन् । विष्णुराजले भने आधारहीन आरोप लगाएको बताएका छन् । उपभोक्ता समिति अध्यक्षमा कांग्रेसका जयबहादुर राई, उपाध्यक्ष तत्कालीन एमालेका सुरेन्द्रकुमार राई, सचिवमा तत्कालीन माओवादीका दीपेन्द्र राई र कोषाध्यक्षमा कांग्रेसकी राई थिइन् । सदस्यहरूमा पनि अन्य दलका कार्यकर्ता संलग्न थिए । निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर र निर्माणमा संलग्न भक्तकणर् राईको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्