झापा, भदौ ३० । पहिलो दिन जिल्ला प्रहरी कार्यालय झापामा म्यादी प्रहरी भर्ना आवेदन दिनेहरुको भीड लाग्यो ।

फाइल फोटो

पहिलो दिन पुरुष ३९६ र महिला २४० गरी ६३६ जनाले आवेदन दिएका हुन् । सर्वसाधारणतर्फ महिला १०९ , पुरुष ३११ , विगतका निर्वाचनमा सहभागी म्यादी प्रहरीहरुमा महिला १३१ , पुरुष १८१ , पूर्व नेपाली सेना पुरुष ६ , पूर्व नेपाल प्रहरी पुरुष ४ र पूर्व सशस्त्र प्रहरी पुरुष ३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । गत स्थानीय तहको निर्वाचनमा जिल्ला प्रहरी कार्यालयले २९०० म्यादी प्रहरी भर्ना गरेकोमा आगामी निर्वाचनका लागि केही संख्या थपिने उनले जानकारी दिए ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले बिहीवारबाट ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट एक साथ म्यादी प्रहरी भर्ना आवेदन लिन सुरु गरेको हो । २०७९ मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी भर्ना गर्न यसअघि नै सरकारले स्वीकृति दिएकोमा बिहीबारबाट झापासहित काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसर तथा जिल्ला बाहिर जिल्ला प्रहरी कार्यालयबाट भर्ना आवेदन खुलाएको हो ।

जिल्ला प्रहरी कार्यालयमार्फत भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र दरखास्त दिन पाउने गरी प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक सूचना प्रकाशित गरेको हो । त्यसको ४ दिनपछि बिहीबारबाट मापदण्ड पूरा गरेका नेपाली नागरिकका दरखास्त आवेदन संकलन कार्य सुरु भएको हो । म्यादीको कार्यअवधि ४० दिन हुने उल्लेख छ ।

आवेदन दिन नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय नपाएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपले स्वस्थ, आतंककारी संगठनको सदस्य नरहेको, आँखाको हेर्ने क्षमता माइनस २ वा प्लस २ भन्दा कमजोर नभएको, पुरुषको हकमा ५ फिट २ इन्च र महिलाको हकमा ५ फिट उचाइ भएका, गर्भवती नभएका÷नरहेकाले आवेदन दिन सक्ने न्यूनतम योग्यता तोकिएको छ ।

यस्तै गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन र २०७४ का स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्यादीमा भर्ना भई सन्तोषजनक काम गरेका, सेना, प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का उपदान र निवृत्तिभरणमा निस्केका पूर्व सुरक्षाकर्मीहरू, पूर्ववन रक्षकहरू, विदेशी सुरक्षा निकायमा काम गरेको अनुभव भएका तथा २०७९ भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेशपत्रको प्रतिलिपि पेस गर्ने व्यक्तिलाई म्यादी छनोटमा प्राथमिकतामा राखिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार दरखास्त दिने अवधि सकिएको भोलीपल्ट असोज ७ गते आवेदन दिएको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । त्यसपछि असोज ९ देखि १४ सम्म भर्ना छनोट गरिसक्ने कार्यतालिका छ । भर्नाको नतिजा असोज २५ मा प्रकाशित गरिने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्