झापा, भदौ ३० । जिल्ला समन्वय समिति झापाको आयोजनामा दुई दिने क्षयरोग, मलेरिया, एचआईभी र कोभिड संक्रमणको नियन्त्रण, निदान र उपचारका बारेमा पालिकास्तरीय अभिमुखीकरण तथा सुदृढीकरण गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा बुधबार माइपारिका सातवटा पालिका र बिहीबार माइपूर्वका आठवटा पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुखहरु सहभागी भएका थिए । सेभ द चिल्ड्रेनको आर्थिक र प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा क्षयरोग, एचआइभी, मलेरिया, कोभिड र डेंगु रोगका बारेमा प्रदेश र जिल्लाको बर्तमान अवस्थाका बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा प्रदेश नम्बर १ स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेशभरिमा हाल ३४७ जना डेंगु संक्रमित भएको बताए । जसमध्ये ११२ जना तेह्रथुम र २७ जना झापाका रहेको उनले जानकारी दिए ।

कार्यालयका क्षयरोगका फोकल पर्सन तुलसीप्रसाद गुरागाईले प्रदेशमा क्षयरोगको समस्या र समाधानका उपायका बारेमा जानकारी दिए । उनले देशभरमा प्रतिबर्ष ७९ हजार नयाँ क्षयरोगका विरामी थपिने गरेको बताए । उनले गत आर्थिक बर्ष मात्र १६ हजारको मृत्यु भएको बताए ।
उनले देशमा प्रत्येक दिन १९१ जना नयाँ क्षयरोगका विरामी थपिने र ४४ जनाको मृत्यु हुने गरेको बताए । सन् २०५० सम्ममा क्षयरोगमुक्त देश बनाउने उद्देश्यअनुरुप सरकारले काम गरिरहेको उनको भनाई छ । उनले आर्थिक बर्ष २०७८÷७९ मा प्रदेशमा चार जार ५०० क्षयरोगका नयाँ विरामी पत्ता लागेको बताए । जसमध्ये झापामा मात्र एक हजार १८२ जना रोगी पत्ता लागेको थियो ।
कार्यक्रममा गत साउन महिनामा फेला परेका मलेरियाका दुई जना विरामीमध्ये एकजना झापामै रहेकोे डा. नितेश मिश्रले बताए । स्थानीय तहका प्रमुख उपप्रमुखले यी रोगका बारेमा आफूहरुले गम्भीर भएर काम गरिरहेको बताए ।
सेभ द चिल्ड्रेन प्रदेश नम्बर १ का बरिष्ठ कार्यक्रम संयोजक कुमार ढकालले एचआइभीका बारेमा जानकारी दिएका थिए । संस्थाकी डिना कार्कीले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गर्ने कामका बारेमा बताएकी थिइन् ।
जिसस प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्