झापा, भदौ ३१ । १२ वर्षमा सोलुखुम्बुका २२ जनाले नेपाली नागरिकता त्यागेका छन् ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार २०६६ सालदेखि हालसम्म ११ महिला र ११ जना पुरुष गरी २२ जनाले नागरिकता त्यागेका हुन् । २०६६ मा चार, २०६८ मा दुई, २०७१ मा एक, २०७२ मा तीन, २०७४ मा तीन, २०७५ मा दुई, २०७६ मा चार, २०७८ मा एक र २०७९ को हालसम्ममा दुईजनाले नेपाली नागरिकता त्यागेका कार्यालयले जनाएको छ । रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएकाहरूले नेपालको नागरिकता परित्याग गरेका प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिए । नागरिकता परित्याग गर्ने अधिकाशं अमेरिकामा छन् भने केही मात्रामा अन्य युरोपियन मुलुकमा छन् । प्रजिअ खनालले भने, ’यहाँका धेरै नागरिकहरू अमेरिका, स्विजरल्याड जस्ता मुलुकमा रहेका छन् । उनीहरूले उतै बसोबासका लागि प्रक्रिया अगाडि बढाउँछन्, उताको अप्लाई सफल हुने वितिकै नेपाली नागरिकता परित्यागको प्रकृया सुरु गर्छन् । यसरी परित्याग गर्ने धेरैजसो शेर्पाहरू छन् । एउटै व्यक्तिले दुई देशको नागरिकता लिन नपाइने भएकाले उनीहरूले नेपालको नागरिकता त्याग गरेका हुन् । ’ जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको गर्ने गरेका हुन् । यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी रहेको कार्यालयले जनाएको छ । सोही अवधीमा दुई पुरुषको नागरिकता रद्द गरिएको छ । नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गर्ने गरिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्