झापा, भदौ ३१ । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणप्रति इंगित गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा आत्मसमर्पणवादी प्रवृति बढेको बताएका छन् ।

अध्यक्ष ली चान्सु स्वदेश फर्किएको भालिपल्ट गृहजिल्ला झापाको बिर्तामोडमा मंगलवार आयोजित कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले विदेशीहरुको ओहोरदोहोर समग्र देशको लागि खतरनाक भएको टिप्पणी गरे ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको जिल्ला अधिवेशनलाई संबोधन गर्दै अध्यक्ष लिङ्देनले विदेशीहरुलाई खुशी नपारी नेपालमा राजनीति गर्न सकिदैन भन्ने बुझेर आत्मसमर्पणवादी गठबन्धन दलहरुले विदेशीहरुको आशिर्वाद लिन खोजिरहेकोसमेत टिप्पणी गरे ।अब नेपालमा आत्मसमर्पणवादी प्रवृतिलाई परास्त गर्न जरुरी भइसकेको उनको भनाई छ ।
कांग्रेस , एमाले , माओवादीजस्ता दलहरुलाई जति नै वर्ष देश जिम्मा लगाएपनि देश सुध्रिने होइन , झन् बर्बाद हुने उनले बताए ।‘कांग्रेस , एमाले र माओवादीलाई कति वर्ष जिम्मा लगाउने ?’ उनले प्रश्न गरे ‘कांग्रेसले २५ वर्ष चलाइसक्यो , एमालेलाई पनि देखिसके अब उनीहरुलाई बिस्थापित गरिनुपर्छ ।’ कांग्रेस एमालेलाई पित्तल र राप्रपालाई अकबरेको सुनको संज्ञा दिँदै लिङ्देनले मंसिर ४ को निर्वाचनलाई देश बदल्ने अवसरको रुपमा उपयोग गर्न कार्यकर्ताहरुलाई आह्वान गरे ।