झापा, भदौ ३१ । झापा अर्जुनधारा १० का ११ र १७ वर्षका दुई नाबालिका दिदीबहिनीलाई मेचीनगर १२ धाइजनका एक ७३ वर्षिय बृद्धले पुरोहित्याइ गर्न जाँदा बलात्कार गरेको खुलेको छ ।

त्यस आरोपमा पुरोहित्याइ पेशा गर्ने मेचीनगर १२ धाइजनका कपिलमणि पौडेल पक्राउ परेका छन् । उनलाई गएराति इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको डिएसपी रुगमबहादुर कुँवरले बताए ।

पीडितमध्ये १७ वर्षकी नाबालिका गर्भवती रहेकी छिन् । उनमा करिव दुई महिनाको गर्भ रहेको बताइएको छ । पुरोहित्याइ पेशा गर्ने पौडेल सोह्र श्राद्ध , पुराणलगायतका कर्मकाण्ड गर्न अर्जुनधारा जाने गरेका थिए । त्यसक्रममा उनले ११ र १७ वर्षका दुई नाबालिका दिदीबहिनीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको हो । करिव ६–७ महिनादेखि पौडेलले त्यस्तो कुकर्म गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सम्बन्ध विच्छेदपछि आमा विदेश गएकी र बाबु काम गर्न बाहिर जाँदा ती बालिकाहरु मात्र घरमा रहने गरेका थिए । पौडेलसंग उनीहरुको चिनजान रहेको पाइएको डिएसपी कुँवरले बताए । पौडेललाई अदालतमा म्याद थप गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसनधान बढाइएको उनले बताए । ती पीडित बालिकाहरुलाई आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्