रत्नकुमार बुढाथोकी,

घटना नं १– राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थराज खनालले दुई दिनअघि मोरङको भाउन्नेमा भारतीय नम्बर प्लेटका गाडी चालकलाई अश्लील शव्दले गाली गलौज गरी कुटपिट गरे । जसको विरोधमा शुक्रवार सिलिगुडीबाट इन्धन बोकेर नेपाल प्रवेश गर्न लागेका करिब ४० वटा ट्यांकर प्रवेशमा भारतीय चालकहरुले अवरोध गरे ।

घटना नं २– केही महिनाअघि चारआली –केचना राजमार्गअन्तर्गत बागाडाँगी भन्ने स्थानमा खनालले तीब्र गतिमा गाडी कुदाउने हुँदा अनियन्त्रित भई बाटोभन्दा २ मिटर पर बाँधेर राखिएका दुईवटा गाई मारिए ।

घटना नं ३ –कार्यालयमा आउने सेवाग्राहीहरुलाई विभिन्न बहानामा खनालले दुःख दिने, गाली गलौज गर्ने र हैरानी दिने गरेको गुनासो छ ।

दुर्व्यवहारको शिकार भएका भारतीय चालक

राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खनालले दादागिरी शैली प्रस्तुत गर्ने गरेको गुनासो बढेको हो । गत भदौ ३० गते विहान करिब ७ बजेको समयमा पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयको गेट अगाडि राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खनालले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका भारतीय नम्बर प्लेटका खाली बोलेरो पिकअप भेनहरु WB73E 9036 र WB74G 1427 लाई सोही स्थानमा रोक्न इशारा गर्दा नरोकी आफ्नै गतिमा दुवै गाडीहरू पूर्वतिर लागेका थिए। तर खनालले भने आफूले रोक्ने संकेत गर्दा अटेर गरी भागेको भनेर आक्रोशित भई आफ्नो कार्यालयको गाडी मगाई सहयोगीका साथि पछिपछि लखेट्दै गए । लखेट्ने क्रममा खनालले मोरङ र झापाका प्रहरी कार्यालय प्रमुखहरुलाई समेत ती दुवै गाडीहरू तस्करी गरी नेपाल सामान भित्र्याएर भागेको हुँदा तत्काल नियन्त्रणमा लिन आफ्नो मोबाइलमार्फत आदेश दिए। त्यसक्रममा मोरङको बेलवारीमा रहेको ट्राफिक प्रहरी ती सवारीसाधन रोक्न सफल भयो । आवश्यक सोधपुछ गर्दै गरेको अवस्थामा सादा पोशाकमा आएका खनालले त्यहाँ पुगेको WB 73E 9036 नम्बरको बोलेरो चालक भारत दार्जिलिङ निवासी वर्ष ३३ का नारायण मोडकलाई गाली गलौज र हातपात गरेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

नियन्त्रणमा लिइएका गाडीहरु

त्यस घटनाको अघिल्लो रात भदौ २९ गते मोरङको भाउन्नेस्थित पूर्वपश्चिम लोकमार्गमा रातको ९ बजेदेखि ११ बजेसम्म खनाल नेतृत्वको टोलीले सवारीसाधनहरू चेकजाँच गर्ने क्रममा ४ वटा सब्जी तथा फलफूल बोकेका गाडीहरु नियन्त्रणमा लिएको थियो । त्यसबेला पनि उनले भारतीय नम्बर प्लेटका गाडी चालकहरुलाई दुर्व्यवहार गरेको बताइएको छ । भारतीय चालकहरुमाथि दुव्र्यवहार गरेको भन्दै शुक्रवार सिलिगुडीबाट इन्धन बोकेर नेपाल प्रवेश गर्न लागेका करिब ४० वटा ट्यांकर प्रवेशमा भारतीय चालकहरुले अवरोध गरे । राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खनालले गाडी पक्राउ गर्नुका साथै चालकलाई दुर्व्यवहार गरेको भन्दै भारतीय चालकहरुले पानीटंकी क्षेत्रमा इन्धनका ट्यांकरमाथि अवरोध गरेका हुन् । खनालको व्यक्तिगत आक्रोशित स्वभावका कारण काम गर्न असहज भइरहेको उनका कर्मचारी बताउँछन् ।‘ सवारीसाधन चेकजाँच र अनुसन्धान गर्ने क्रममा अश्लील शव्द प्रयोग गर्नु राम्रो होइन ’ नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले भने,‘ आफ्नो एग्रेसनलाई कन्ट्रोल गर्नुपर्यो ।’

खनालले नियन्त्रण गुमाएर दुर्घटना भएको गाडी

उता राजस्व अनुसन्धान कार्यालयका अधिकृत खनालले दादागिरी शैलीमा अवैधरुपमा नेपाल छिरेका भारतीय सवारीलाई पक्राउ गरि मुद्दा चलाइएको जनाए । ‘ती सवारीहरुले पटक–पटक यस्तो हर्कत गर्दै आएको पाइयो,’ खनालले भने । नियन्त्रणमा लिइएका सबै सवारीसाधनहरुलाई छोडिएको छ । परमिट नलिई आएका ती भारतीय सवारीसाधनहरुलाई जरिवाना लिई छाडिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्