झापा, असोज १ । बिर्तामोड नगरपालिकाले सडक सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु गरेको छ ।

पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा शनिबारदेखि शिविर सुरु गरिएको हो ।शिविरको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् । हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट)को प्राविधिक सहयोगमा सुरु गरिएको यो शिबिर असोज ६ गतेसम्म सञ्चालन हुने छ । नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर वन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ । यस पटक दुई सय ५० वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको पशुपंछी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिइन्।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले सामुदायिक कुकुरमा लागेको रेबिज रोगका कारण केहि समयअघि नगरका २,८ लगायत विभिन्न वडामा पशु चौपायामा क्षति पुगेको बताइन् । उनले कुकुर वन्ध्याकरणका लागि प्राविधिक टिम बाहिरबाट नै मगाउनु पर्ने भएकाले धेरै सहज नभएपनि हरेक वर्ष यो शिविर सञ्चालन गर्दै आएको बताइन् ।

कार्यक्रममा बोल्दै हार्ट नेपालका निर्देशक खगेश्वर शर्मा भट्टराईले सडक सामुदायिक कुकुरको न्यूनीकरण र रेविज उन्मुलनका लागि विश्वमा बन्ध्याकरणबाहेक अरु कुनै विधि नरहेको बताए । उनले बिर्तामोडमा वर्षमा २ पटकसम्म वन्ध्याकरण शिविरको आयोजना गर्नु पर्ने आवश्यकता रहेको बताए ।

नगरभित्र रहेका सामुदायिक कुकुरहरुको सर्भे गरेर तथ्याङ्क संकलन गर्ने योजना बनाईरहेको पशुपंछी तथा मत्स्य विकास शाखाले जनाएको छ । शिविर उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरिया, शाखा अधिकृत मेघराज बाँस्तोलालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्