बिर्तामोड, असोज ३ । अर्ध सरकारी कम्पनीको रुपमा कनकाई बिर्ता अर्जुन नविकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडमा कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाले सहलगानी गरेको दावी गरेका छन् ।

कनकाई बिर्ता अर्जुन नविकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमा कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाले सहलगानी गर्ने सम्बन्धी भएको समझदारीको प्रक्रियाप्रति विभिन्न टिकाटिप्पणी आएपछि बिर्तामोड नगरपालिकाले विज्ञप्ति जारी गरी स्पष्ट पारेको हो । संयुक्त लगानी प्रस्ताव अनुसार उक्त कम्पनीको ६० प्रतिशत शेयर स्थानीय सरकारको स्वामित्वमा ( बिर्तामोड नगरपालिका १५%, कन्काई १५%, अर्जुनधारा १५% र अन्य पालिका १५%) रहने र ४० प्रतिशत शेयर मात्र निजी क्षेत्रको हुनेगरी तयार भएको ÷ कम्पनीको संचालक समितिमा नगरपालिकाको तर्फबाट ४ जना, संस्थापक शेयरधनीका तर्फबाट २ जना र सर्वसाधारण शेयरधनीबाट २ जना,स्वतन्त्र संचालक १ जना गरी ९ जनाको हुनेगरी अर्ध सरकारी कम्पनीको रुपमा यस परियोजना संचालन गर्ने गरी तयार भएको र यसको लेखा परीक्षण महालेखा परीक्षण विभागबाट हुने जनाइएको छ ।

कन्काई, बिर्तामोड, अर्जुनधारा र मेचीनगर नगरपालिका क्षेत्रभित्र उत्सर्जन हुने सबै प्रकारका फोहोरमैला व्यवस्थापन गरी कुहिने फोहोरबाट ग्यास र नकुहिने फोहोरबाट पेवर्स जस्ता वस्तु उत्पादन हुने गरी निजी साझेदारी– कार्यक्रम (पीपीपी) अवधारणा अनुसार कार्य गर्न गरी ऊर्जा उद्योग स्थापना र संचालन गर्न मिति २०७६ असार ३० गते चारवटै नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियोे ।उक्त परियोजनाको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को सहयोगमा विण्डपावर नेपाल प्रा.लि. मार्फत फोहोरबाट ऊर्जा उत्पादन गर्ने सम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन भई मिति २०७६ असार ८ गते नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले स्वीकृत गरी यस परियोजनाको लागि नेपाल सरकारको अनुदान नीति २०७३ बमोजिम रु ५ करोड ४६ लाख ४९ हजार ६० रुपैयाँ केन्द्रबाट उपलब्ध हुने पत्र समेत प्राप्त भएको थियो । तत्पश्चात परियोजनाको निर्माण कार्य सुचारु भइरहेको सन्दर्भमा कोभिङ १९ को विश्वव्यापी महामारीले परियोजनाको लक्ष्य अनुसार कार्यप्रगति हुन नसकेकोले परियोजनाले थप व्ययभार बेहोर्नुपर्ने अवस्था सृजना भएको विज्ञप्तिमा जनाइएको छ । स्थानीय निर्वाचन २०७९ सम्पन्न भएपछि फोहोरमैला व्यवस्थापनमा ठूलो कठिनाई उत्पन्न भई फोहोरमैलाको दिगो व्यवस्थापनका लागि उक्त परियोजनालाई सम्पन्न गर्नुपर्ने आवश्यकता महसुस भई तीनवटै नगरपालिकाले फोहोरमैला व्यवस्थापन संयुक्त लगानी परियोजना प्रस्ताव तयार गरी गत भदौ २४ गते बिर्तामोडमा ३ वटै नगरपालिकाका पदाधिकारीहरु कम्पनीका संचालकहरु र राजनैतिक दलका पदाधिकारीहरु समेतको बैठक गरी लगानी प्रस्तावको बारेमा स्वतन्त्र विज्ञबाट प्रस्तुती गरी सबैको सहमति गरिएको थियो ।

त्यसपछि भदौ २५ गते बिर्तामोड नगर कार्यपालिकाको बैठकबाट उक्त संयुक्त लगानी परियोजना प्रस्ताव स्वीकृत गर्ने निर्णय भएको थियो ।
वर्तमान समयको बढ्दो मूल्यवृद्धि समेतलाई समायोजन गर्दै थप प्लाष्टिकजन्य वस्तुबाट पेवर्स उत्पादन गर्ने, थप अटोमेटिक मेशिनरी ÷ प्रविधि जडान गर्ने÷ वातावरण प्रदूषणलाई पूर्णतः न्यूनीकरण हुने गरेको प्रविधि जडान गर्ने र थप केही जग्गा (जमिन) समेत खरिद गरी यही २०७९ पौष महिनाबाट उक्त उद्योग संचालन गर्नेगरी कुल स्थीर लागत रु २१ करोड ५२ लाख ६३ हजार ९ सय ९ रुपैयाँ प्रस्ताव गरिएको छ । यस परियोजना संचालन भएबाट कर पछिको खुद मुनाफा पहिलो बर्ष ४ करोड २५ लाख ३४ हजार हुँदै सातौं बर्षमा रु ६ करोड ४९ लाख ५८ हजार पुग्ने प्रक्षेपण गरिएको र पाँचौवर्ष भित्रमा परियोजना लागत उठिसक्ने प्रस्तावना रहेको छ ।

यस सन्दर्भमा बिर्तामोड नगरपालिकाले बिर्तामोडको मुख्य समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनको लागि चारवटै नगरपालिकाहरु बीच सहकार्य र सहलगानी गरी निजी क्षेत्र समेतको साझेदारी हुनेगरी संयुक्त लगानी परियोजना प्रस्तावमा सहमति गरेको हो ।
कनकाई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडको लेखा परीक्षण प्रतिवेदन, संयुक्त लगानी परियोजना प्रस्ताव र विभिन्न चरणमा भएका समझदारी पत्र र निर्णयहरु यस नगरपालिकामा रहेकाले ईच्छुक सबैले कार्यालयमा आई यस विषयमा थप बुझ्न र अध्ययन गर्न सकिने बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्