बरतलाल राजवंशी,
कुमरखोद । नेपालीहरुको महान पर्व दसैतिहार नजिकिँदै छ तर, चाडपर्वको समयमा पनि झापा गाउँपालिकाका सबै बजार सुनसान छ ।

झापा गाउँपालिकाको मुख्य बजारको रुपमा चिनिने झापा बजार समेत सुनसान भएपछि अरु बजारहरु त सुनसान हुने नै भयो । झापा बजारमा सबैभन्दा बढी भीडभाड हुने व्यापारिक मल चन्दा कम्प्लेक्स अहिले दशैंको समयमा पनि सुनसान देखिन्छ । जुन कम्प्लेक्समा ५२ वटा पसलहरु एकै छानामुनि रहेका छन् भने माथिल्लो तल्लामा एनआईसी एसिया बैंक रहेको छ ।
बजार क्षेत्रमा पनि ग्राहकहरुको चहलपहल नभएपछि व्यापारीहरु निराश देखिन्छन् । उनीहरु तनावमा छन् । ‘दसंै पर्वमा राम्रो व्यापार हुन्छ भनेर साहुसँग लाखौ रुपैयाँ ऋण काढेर सामान हाल्यो अहिले व्यापार भने शुन्य अवस्थामा छ’ एक व्यापारीले भने,‘ कोरोनाले थला परेको व्यापार अझै १० दिन यस्तै चले व्यापारीहरु व्यापारबाट विस्थापित हुनेछन् ।’

भारतले सवारीसाधनमा रोक लगाएपछि समस्या
झापा गाउँपालिकाका सीमाक्षेत्रका बजारहरु भारतीय ग्राहकको भरमा चल्छन् । भारतीय ग्राहक नआएपछि बजार सुनसान देखिएको हो । भारतको सीमाक्षेत्र दिंघलबैकमा रहेको एसएसवी क्याम्पले माथिको आदेश भन्दै कोरोना कालदेखि अहिलेसम्म सवारीसाधनलाई आवतजावतमा रोक लगाएको छ । सवारी आवतजावतमा रोक लगाएपछि भारतबाट आउने ग्राहक नेपालमा घटेका छन् ।

ट्राफिक प्रहरीको चेकजाँच
भारतीय एसएसवीले मुख्य नाकाबाट सवारीसाधन आवातजावत गर्न नदिँदा भारतीय ग्राहकहरु गाउँको सहायक बाटोबाट लुकिछिपी हँुदै मोटरसाईकल लिएर नेपाल प्रवेश गरिरहँदा नेपालको ट्राफिक प्रहरीले चेकजाँच गर्दा उनीहरु जरिवाना तिर्न बाध्य छन् । भारतबाट आउने अधिकांश मोटरसाईकल चालकको लाईसेन्स नै हुँदैन । भारतबाट आउनेहरु लताकपडा , कस्मेटिकका सामान किन्न र मादक पदार्थ सेवन गर्न नेपाल आउने गरेका छन् ।
व्यापार व्यवसाय मन्दी हुनुको कारण देशमा आर्थिक संकट देखा पर्नु , महँगी अत्यधिक मात्रामा बढ्नु,किसानले लगाएको धानवाली नपाक्नु ,आर्थिक कारोवार गर्ने वित्तीय संघसंस्थाहरुले ऋण लगानी नगर्दा व्यवसाय ठप्प भएको झापा गाउँपालिका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार गणेश बताउँछन् ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्