बिर्तामोड, असोज ३ । झापाको बिर्तामोड –२ चारपानेमा रहेको निदी माध्यमिक विद्यालय र इन्द्रेणी क्याम्पसले पाँचजना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।

कक्षा ११ मा विज्ञान संकायमा कलेज प्रथम तथा हिसानको परीक्षामा झापा प्रथम हुने अनिश घिमिरे, कक्षा ११ मा व्यवस्थापन संकायमा बिजनेस स्टडीबाट कलेज प्रथम तथा हिसानको परीक्षामा झापा तेस्रो हुने अञ्चला श्रीवास्तव र कक्षा ११ मा व्यवस्थापन संकायमा कम्प्युटर साइन्सबाट कलेज प्रथम हुने कामना भट्टराईलाई सम्मान गरिएको हो ।

त्यस्तै कक्षा १२ मा विज्ञान संकायमा कलेज प्रथम हुने पवन निरौला र कक्षा १२ मा व्यवस्थापन संकायमा कलेज प्रथम तथा मेची अञ्चलकै प्रथम दावी गरिएका सोहन निरौलालाई जनही नगद पाँच हजार र सम्मानपत्र प्रदान गरिएको थियो ।

निदी उच्च शिक्षा निकेतन प्रालिका अध्यक्ष रमेश प्रसाईंको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर शिक्षा अधिकृत तिलचन भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्याम्पस प्रमुख रञ्जीतकुमार शाहले स्वागत गरेका थिए भने विद्यार्थीहरुको तर्फबाट कक्षा ११ की युनिसा तामाङले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा हिसान झापाका उपाध्यक्ष गौतम शर्मा शिवाकोटी, प्याब्सन झापाका महासचिव हरिकृष्ण पाठक, प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियो भने बीबीएस चौथो वर्षका विद्यार्थीलाई विदाई गरिएको थियो । बीबीएस चौथो वर्षका विद्यार्थी प्रमिसा गिरीले विदाई मन्तव्य राखेको कार्यक्रममा नृत्य प्रशिक्षक एलसी श्रेष्ठको कोरियोग्राफी र निर्देशनमा विद्यार्थीहरुले नृत्य, गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षकहरु तुलसीराम खरेल र सरोज घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्