बिर्तामोड, असोज ५। झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १०औं साधारणसभाअन्तर्गत बुधवार शनिश्चरे सेवाकेन्द्रको प्रतिनिधि छनोट भएको छ ।

अर्जुनधारास्थित अर्जुनधारा धामको सभाहलमा इकाइगत साधारणसभाअन्तर्गत प्रतिनिधि छनोट भएका हुन् । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका उपप्रमुख खगमाया पराजुली थिइन् । कार्यक्रमका प्रमुख अतिथि पराजुलीले सहकारीले बचत तथा ऋण कारोबार मात्र नगरी उद्देश्य अनुरुपका काम गर्नुपर्नेमा जोड दिइन् । उनले सहकारीहरुले नाफासँगै सामाजिक कार्यमा समेत विशेष कदम चाल्नुपर्ने बताइन्।

‘ऋण लिने सोचले मात्र सहकारीमा सदस्य बन्ने गरेको पाइएको छ’, उनले सदस्यहरुलाई ऋण लिएर आयआर्जनमा लाग्न आग्रह गर्दै भनिन्, ‘सहकारीले दिएको ऋणलाई आयमूलक क्षेत्रमा लगाउनुपर्छ, ऋणकै कारण उठिबास हुने अवस्था आउन सक्छ ।’
कार्यक्रमका विशेष अतिथि अर्जुनधारा धामका मूल अर्चक अग्नि सिग्देलले सहकारीले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्दै साधारणसभाको सफलताको शुभकामना दिए । कार्यक्रममा संस्थाका अध्यक्ष सुव्रत न्यौपानेले अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक युवराज निरौलाले लेखाको प्रतिवेदन, ऋण उपसमिति सदस्य चीजा राईले ऋण उपसमितिको प्रतिवेदन पेश गरेका थिए ।

संस्थाका अध्यक्ष न्यौपानेले संस्था आर्थिक रुपमा सबल भएको बताउँदै बाह्य ऋणभन्दा पनि सदस्यको बचतलाई नै परिचालन गरेर सदस्यलाई नै ब्याज दिने नीति लिएको बताए । उनले भने, ‘बाह्य ऋण लिएर भन्दा पनि सदस्यको बचतलाई हामीले प्राथमिकता दिएका छौं, जसले संस्था मजबुद हुनुका साथै सदस्य बढी लाभान्वित हुनेछन् ।’

कार्यक्रमा संस्थाका सल्लाहकार संयोजक सावित्राकुमारी लिम्बू, सदस्य चन्द्रकला मिश्र, सञ्चालक समिति सदस्य लक्ष्मीप्रसाद घिमिरे, यज्ञप्रसाद मिश्र, लेखा समिति सदस्य लक्ष्मी देवान, महिला उपसमिति संयोजक उमा राई, सेवाकेन्द्र प्रमुख अञ्जना घिमिरेलगायतको सहभागिता रहेको थियो । संस्थाका सञ्चालक समिति सदस्य चीजा राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूर्यकुमार खतिवडाले गरेका थिए ।
मुख्य कार्यालयसहित ६ वटा सेवाकेन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको संस्थामा ४ हजार ६ सय १३ जना सदस्य छन् भने ३६ जना कर्मचारी कार्यरत रहेको संस्थाका व्यवस्थापक दिपेश धौरालीले जानकारी दिए । संस्थाको धुलाबारी सेवाकेन्द्र बिहीबार इकाइगत साधारणसभा हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्