झापा, असोज ५ । खुकुरी प्रहारबाट एक भुटानी शरणार्थीको मृत्यु भएको छ ।

खुकुरी प्रहारबाट दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बसोबास गर्दै आएका एलबी गुरुङ नामले चिनिने ४६ वर्षीय लालबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । झापा र इलामको सीमा नजिक पर्ने रतुवा खोलाको पुलमा बुधवार अपराह्न साढे ४ बजे गुरुङमाथि खुकुरी प्रहार भएको थियो । गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो ।
त्यसपछि घटनास्थल पुगेका प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि लाइफलाइन अस्पताल पु¥याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरी स्रोतका अनुसार गुरुङ चुलाचुली क्षेत्रका युवाहरूसँग ग्याङ फाइट (झगडा) गर्न त्यसतर्फ गएका थिए ।झगडा गर्ने क्रममा चुलाचुलीका युवाहरूले उनलाई घेरेर आक्रमण गरेको जनाइएको छ । व्यक्तिगत रिसिबीका कारण सो घटना भएको हुनसक्ने आशंका गरिएको इलामका प्रहरी प्रमुख दिलिप घिमिरेले बताए । उनले घटनामा ४–५ जना युवाको संलग्नता देखिएको बताउँदै उनीहरुको खोजी भइरहेको जानकारी दिए ।

यसअघि गुरुङले विभिन्न अपराधको घटनामा संलग्न भई पटक पटक जेल सजाय भोगिसकेका थिए । केही समयअघि मात्र उनी जेलबाट छुटेर शरणार्थी शिविरमा बस्दै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्