झापा,असोज ६। भुटानी शरणार्थी लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आशंकामा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको नाम खुलाइएको छैन । घटनामा संलग्न भएको आशंकामा केहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी दिलिप घिमिरेले बताए । उनले उनीहरुको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

हिजो अपरान्ह साढे ४ बजे खुकुरी प्रहारबाट दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बसोबास गर्दै आएका एलबी गुरुङ नामले चिनिने ४६ वर्षीय लालबहादुर गुरुङको मृत्यु भएको थियो । झापा र इलामको सीमा नजिक पर्ने रतुवा खोलाको पुलमा गुरुङमाथि खुकुरी प्रहार भएको थियो । गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो ।

त्यसपछि घटनास्थल पुगेका प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि लाइफलाइन अस्पताल पु¥याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरी स्रोतका अनुसार गुरुङ चुलाचुली क्षेत्रका युवाहरूसँग ग्याङ फाइट (झगडा) गर्न त्यसतर्फ गएका थिए ।
झगडा गर्ने क्रममा चुलाचुलीका युवाहरूले उनलाई घेरेर आक्रमण गरेको जनाइएको छ । व्यक्तिगत रिसिबीका कारण सो घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्