झापा, असोज ६ । झापाको बिर्तामोडमा यात्रुबाहक बस र हाइलेक्स गाडी ठोक्किँदा तीन जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड– ६ स्थित बुट्टावारीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६४७२ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बा २० च १७३८ नम्बरको हाइलेक्स गाडी एक आपसमा ठोक्किएको हो । बससँग हाइलेक्स गाडी ठोक्किँदा हाइलेक्सको अगाडिको भाग क्षतिग्रस्त भएको छ ।
दुर्घटनामा परी हाइलेक्स गाडी चालक कनकाई नगरपालिका– २ निवासी केशव चौधरी र सोही गाडीमा सवार बिर्तामोड– ५ निवासी योगेन्द्र भुर्तेल घाइते भएका छन् ।
त्यस्तै बसमा सवार मोरङकी स्वस्तिका राई सामान्य घाइते भएकी जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक अशोककुमार जबेगुले जानकारी दिए । घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । दुर्घटना हुँदा केही समय सडक अवरुद्ध बनेको थियो ।