झापा, असोज ६ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संवैधानिक व्यवस्थाभित्र पस्ने, निर्वाचित हुने र पछि त्यही संवैधानिक व्यवस्थाको विरोध गर्ने प्रवृत्ति बढेर गएको बताएका छन् ।

झापाको कचनकवल गाउँपालिका–७ स्थित दीपज्योति सामुदायिक वन उपभोक्ता समूहको १५ औं वार्षिक साधारणसभामा बोल्दै काँग्रेसका पूर्व महामन्त्री समेत रहेका सिटौलाले भने, ‘यो संविधानले व्यवस्था गरेअनुसार स्थानीय तह, प्रदेशदेखि केन्द्रसम्म जितेर जाने, अनि यो व्यवस्थाले जनतालाई केही पनि नदिने भन्नु योभन्दा लज्जास्पद कुरा के हुन सक्छ ।’
‘निर्वाचित हुने अनि काम नगर्ने, अनि दोष जति संवैधानिक व्यवस्थालाई दिने जस्ता कार्यलाई हामीले नै रोक्नु पर्छ,’ उनले भने,‘यो संवैधानिक व्यवस्था त्यसै आएको होइन । धेरैको बलिदानपछि देशमा परिवर्तन र संविधान आएको छ ।’
यसै व्यवस्थाको माध्यमबाट जनताको आर्थिकसँगै दैनिक जीवनस्तरमा सुधार ल्याउन सक्नुपर्नेमा उनको जोड थियो । स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिलाई लक्षित गर्दै उनले जनप्रतिनिधिले आफ्नो सेवा सुविधाका लागि काम गर्ने होइन, जनताको सेवा सुविधाका लागि काम गर्न आग्रह गरे ।

दक्षिण एसियाकै जैविक विविधताले भरिएको चारकोसे जंगलको कचनकवल –७ स्थित दीपज्योति सामुदायिक वन ३४१.३३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वन उपभोक्ता समूहको साधारणसभामा प्रमुख अतिथि सिटौला, विशिष्ट अतिथि माओवादी नेता डिल्ली घिमिरे (हिक्मत ) , गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी , गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईका साथै वन महासंघका प्रतिनिधि र वन उपभोक्ताहरुको सहभागिता रहेको थियो । समूहका अध्यक्ष हरिप्रसाद लिम्बूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष श्याम घिमिरेले गरेका थिए ।