झापा, असोज ७ । झापामा म्यादी प्रहरीमा भर्ना हुनका लागि करिव ७ हजारले दरखास्त दिएका छन् ।

हिजो अन्तिम दिनसम्म ६ हजार ९५८ जनाले दरखास्त दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । करिव ३ हजार जनाको कोटामा त्यसको दोब्बरबढीले आवेदन दिएका हुन् ।

सर्वसाधारणतर्फ महिला १२४७ र पुरुष ३६२६ गरी ४७८३ , विगतका निर्वाचनहरुमा भर्ना भएका म्यादी प्रहरी महिला ६२८ र पुरुष १३९४ गरी २०२२ , पूर्व नेपाली सेना ३५ , पूर्व नेपाल प्रहरी १८ र पूर्व सशस्त्र प्रहरी १० जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । उनले आगामी मंसिर ४ को निर्वाचनका लागि झापामा ३ हजारदेखि ३५०० सम्म म्यादी प्रहरी भर्ना गरिने जानकारी दिए ।

गत स्थानीय तहको निर्वाचनमा जिल्ला प्रहरी कार्यालय झापाले २९०० जनालाई म्यादी प्रहरीमा भर्ना गरेको थियो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले गत भदौ ३० देखि असोज ६ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट एक साथ म्यादी प्रहरी भर्ना आवेदन लिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्