इलाम ,असोज ७ । दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका ४४ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न ९ जनालाई पक्राउ गरी इलाम प्रहरीले सार्वजनिक गरेको छ ।

बुधवार साँझ इलामको चुलाचुलीमा धारिलो हतियार र ढुङ्गा प्रहारबाट गुरुङको हत्या भएको थियो । घटनामा संलग्न ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलाममा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकाका शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, नरेशकुमार याखा, अभिषेक केरुङ, सेसेयाङ याखा, चन्द्रकुमार यवा, डम्बर यवा , नरेन्द्र तुम्रोक, बिक्रम हिङमाङ (नेपाली) र पर्शु राई रहेका छन् । उनीहरुले आफूहरु हत्यामा संलग्न रहेको स्वीकारेको प्रहरीले जनाएको छ ।

झापा र इलामको सीमानास्थित इलामको चुलाचुली–५ मा ती युवाहरुको सामूहिक आक्रमणबाट गुरुङको मृत्यु भएको थियो । आपराधिक पृष्ठभूमिका गुरुङले चुलाचुलीका एक व्यक्तिको रकम लुटेपछि त्यसको बदलामा युवाहरुले मिलेर कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए ।