झापा , असोज ७ । मावन बेचविखन तथा ओसारपसार मुद्दामा अदालतले दोषी ठहर गरे पनि कैद सजाय भुक्तान नगरिकन फरार रहेका तीनजनालाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ।

बेलबारी नगरपालिका-६ का भरत यादव, धरेन झा र बेलबारी-९ की तिलोदेवी पण्डित (कुम्हाल) लाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले तीनै जनालाई पक्राउ गरेको हो । डीएसपी श्रेष्ठका अनुसार जिल्ला अदालत मोरङले मावन बेचविखन तथा ओसारपसार मुद्दामा २०७६ साल जेठ १५ गते उनीहरुलाई दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाएको थियो । अदालतले यादवलाई ११ महिना २७ दिन, झालाई ५ महिना २७ दिन र पण्डितलाई ५ महिना ५ दिन कैद सजायको फैसला गरेको हो । अदालतले ३ वर्षअघि नै दोषी ठहर गरे पनि फरार रहेका कारण उनीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन। प्रहरीले पक्राउ गरेर पेस गरेपछि अदालतले कैद सजाय भुक्तानका लागि बिहीबार कारागार चलान गरेको डीएसपी श्रेष्ठले बताए ।