इलाम,असोज ७ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले नागरिकता विधेयक अनागरिकलाई नागरिक बनाउने सत्ताधारीको खेल भएको आरोप लगाएका छन् ।

उनले पछिल्लो समयमा नेपाली राजनीतिमा मुख्य विषय बन्दै आएको नागरिकता विधेयक चुनावी एजेन्डा मात्र भएको बताउँदै क्षणिक स्वार्थ र सत्तालोभका कारण ठूला दलहरुले नाटक गरेको बताए ।

‘आफ्ना नागरिकलाई नागरिकता वितरण गर्नका लागि कुनै विधेयक आवश्यक छैन’अध्यक्ष पालुङ्वाले भने, ‘एउटा नेपाली नागरिकले नागरिकता पाउनु पर्छ, नागरिकता पाउने उसको अधिकार हो, कानून अनुसार नागरिकता दिए भइगयो नि !’
इलाम बजारमा विहीबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष पालुङ्वाले अभाव, प्रभाव र दबाबमा विदेशिएका नेपाली नागरिकलाई चाहिँ गैरआवासीय नेपाली भनेर पन्छ्याउने र अनागरिकलाई नागरिक बनाउने खेलमा नलाग्न ठूला दललाई चेतावनी दिए ।
सभामा पार्टीका उपाध्यक्ष विधु प्रकाश कायस्थले विदेशी ऋणको भारले मुलुक श्रीलंका पथमा जान लागेको टिप्पणी गरे ।

उनले यसअघि दलहरुले जनमतको सम्मान गर्न नसकेकाले यो अवस्था आएको बताए । कार्यक्रममा उपमहासचिव विष्णु थाङ्देन, केन्द्रीय सचिव गजेन्द्र आङ्बोहाङ, संघीय सदस्य तथा महिला नेतृ मीना पन्धाकलगायतले जनमुक्तिको मुद्दा नेपाली माटो सुहाउँदो भएको हुँदा नेपाली जनतालाई मुक्ति दिलाउनको लागि बलियो अस्त्र भएको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य लोक आङ्ला, प्रदेश अध्यक्ष पर्शुराम मगर, माङ्सेबुङ वडा नं. ५ का अध्यक्ष नगेन्द्र राईलगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

टुँडिखेलबाट सुरु भएको ¥यालीमा ‘एमसीसी खारेज गर, भ्रष्टाचारी दलहरु होसियार’ जस्ता नारा लगाएर लाकुरी चोकमा सभाको आयोजना गरिएको थियो । सभामा विभिन्न राजनीतिक दल परित्याग गरि ४० भन्दाबढी कार्यकर्ता जनमुक्तिमा प्रवेश गरेको पार्टीका युवा नेता राज खम्बूले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्