धुलाबारी, असोज ८ । थोप्लेविरान महिला कृषि सहकारी संस्थाको अध्यक्षमा डम्बरकुमारी प्रधान सर्वसम्मत चयन भएकी छिन् ।

सहकारीको शनिवार भएको आठौ साधारणसभाले उनको नेतृत्वमा चार बर्षे कार्यकालका लागि १० सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा जानुका ओली, सचिव तारा सुवेदी, सहसचिव हरिकला खड्का र कोषाध्यक्षमा टीका तिवारी सर्वसम्मत चयन भएका छन् । एक जना सदस्य भने समितिको पहिलो बैठकले मनोनयन गर्ने जनाइएको छ । समितिको सदस्यहरुमा इन्दिरा राउत, करुवा राजवंशी, गंगामाया लिम्बू, ललिता तामाङ, जय रोका रहेका छन् ।
यसैगरी लेखा समितिको संयोजकमा इश्वरा चौलागाई, सदस्यमा पुष्पा भण्डारी र धनकुमारी तामाङलाई चयन गरिएको छ ।

वि.सं. २०७१ मंसिरमा थोप्लेविरान महिला विकास समूहबाट थोप्लेविरान महिला कृषि सहकारी संस्थाको नामकरण गरी सुरु गरेको संस्थाको शेयरपुँजी हाल २३ लाख ४८ हजार तीन सय रुपैयाँ पुगेको छ । संस्थाकी अध्यक्ष मञ्जु कट्टेलले उद्यम गर्न चाहने शेयर सदस्यहरुलाई चालु आर्थिक बर्षदेखि विना धितो रु. दुई लाखसम्म ऋण दिँँदै आएको बताइन् ।

साधारणसभामा उनले प्रस्तुत गरेको संस्थाको प्रतिवेदनमा शेयर सदस्यहरुलाई उद्यमशील बनाउने उद्देश्यले विगतमा बाहुनडाँगी क्षेत्रको अवलोकन भ्रमण गराई मरिच खेती, गाईपालन, तरकारी खेतीलगायतका बारेमा जानकारी लिएको उल्लेख छ ।

सहकारीले शेयर सदस्यहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउन कृषि तथा पशुपालन, व्यावसायिक कर्जा, धितो कर्जा स्वरोजगार कर्जा लगानी गर्दै आएको संस्थाको प्रतिवेदनमा जनाइएको छ । सहकारीले बृद्ध बचतलाई निरन्तरता दिने, शेयर बोनस दिने, कृषि क्षेत्रमा महिलालाई प्रोत्साहन दिने, सहुलियत रकममा कृषि सामग्री उपलब्ध गराउने, मासिक बचतलाई रु १५० बाट रु २०० बनाउने, प्रत्येक शेयर सदस्यहरुको शयर रकम पाँच हजार रुपैयाँ बनाउने योजना रहेको अध्यक्ष कट्टेलले बताइन् ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष कञ्चन तामाङ, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका जिल्ला अध्यक्ष धनश्याम अधिकारी, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रमुख मुना घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाकी उपाध्यक्ष जानुका ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारीकी व्यवस्थापक पवित्रा आचार्यले गरेकी थिइन् । सहकारीमा हाल ४५० शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्