झापा, असोज ९ । प्रदेश १ सरकारले विशेषज्ञ सेवा प्रदान गर्न प्रदेशस्थित १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गर्ने भएको छ ।

संघीय सरकारले खारेज गरिसकेको जिल्ला र निर्देशनालय कार्यालयहरू प्रदेश सरकारले स्थापना गरी सञ्चालन गर्दै आएकोप्रति महालेखा परीक्षकको कार्यालयले बर्सेनि प्रश्न उठाउँदै आएको छ । प्रदेश सरकारले मोरङमा शुक्रबार कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना गरेको छ । कृषिमन्त्री झलकबहादुर मगरले केन्द्रको उद्घाटन गरे । तेह्रथुममा असोज ९ मा र ताप्लेजुङ असोज १० मा केन्द्र स्थापना गरिने कृषि मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले बताए ।


मन्त्रिपरिषद्को २०७८ माघ २३ को निणर्यबमोजिम चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएपछि केन्द्र स्थापना गरिएको उनले बताए ।यसअघि सुनसरी र मोरङ कार्यक्षेत्र रहने गरी इनरुवामा केन्द्र स्थापना गरिएको थियो । सुनसरीमा स्थापना गरे पनि मोरङमा इकाइ कार्यालय स्थापना गरेर कामकाज सञ्चालन हुँदै आएको थियो । उक्त केन्द्र मोरङका लागि ८ करोड ३ लाख बजेट चालु आर्थिक वर्षमा विनियोजन गरिएको छ ।

मन्त्री मगरले प्रदेशको प्रत्येक जिल्लामा केन्द्र स्थापनाले किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले किसानलाई विशेषज्ञ सेवा प्रदान गर्न कुनै किसिमको त्रुटि नगर्न कर्मचारीलाई निर्देशन दिए । प्रदेश सरकारले केही कार्यालय समायोजन समेत गरेको छ । बागबानी केन्द्र जौबारीलाई कृषि ज्ञान केन्द्र इलाममा र बागबानी केन्द्र फाप्लुलाई कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा, रेशम विकास कार्यक्रम धनकुटालाई कृषि ज्ञान केन्द्र धनकुटामा, रेशम प्रशोधन कार्यक्रम इटहरीलाई कृषि ज्ञान केन्द्र सुनसरीमा र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुंगालाई कृषि ज्ञान केन्द्र झापामा प्रदेश सरकारले समायोजन गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्