बिर्तामोड, असोज ९ । बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोरकुमार बिश्वासले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाउने राष्ट्रपतिको कदम स्वागतयोग्य भएको बताएका छन् ।

बहुल राष्ट्रिय समाजवादी पार्टीले शनिवार बिर्तामोडमा आयोजना गरेको कार्यकर्ता सम्मेलनलाई संबोधन गर्दै अध्यक्ष बिश्वासले राष्ट्रपति विद्यादेवी भण्डारीको सो कदमलाई आफ्नो पार्टीले स्वागत गरेको बताए । उनले राज्यले प्रदान गरेको एक करोड नेपालीको नागरिकता छानबिन गरिनु पर्ने माग गरे । मोदी सरकारले सन् २००६ मा घोषणा गरेको कट अफ इयर यताका सबै नागरिकता छानबिन गरिनुपर्ने उनको भनाई छ । आगामी मंसिर ४ गतेको आम निर्वाचनको तयारीका लागि पार्टीले कार्यकर्ता भेटघाट र संगठन सुदृढीकरण गरिरहेको उनले जानकारी दिए ।

प्रमुख अतिथि केन्द्रीय अध्यक्ष बिश्वास रहेको कार्यक्रममा केन्द्रीय सदस्य हरिनारायण चौधरीको अध्यक्षता रहेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य गीतादेवी चौधरी, केन्द्रीय सदस्य तथा प्रदेश न. १ ईन्चार्ज आगतलाल चौधरी, केन्द्रीय सदस्य तथा प्रदेश न. १ सहइन्चार्ज भिमबहादुर राजवंशी,केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज सोतनलाल चौधरी,ताजपुरिया विकास समितिका पूर्व केन्द्रीय अध्यक्ष कुञ्जीविहारी ताजपुरिया,थारू कल्याणकारिणी सभाका जिल्ला सचिव हरिप्रसाद चौधरी, साना निर्माणकर्मी संघ झापाका रामचन्द्र दासलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन केन्द्रीय सदस्य श्रवणकुमार चौधरीले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्