बिर्तामोड, असोज ९। करिव एक साताअघि युवा नागरिक समाजले फोहोरमैला व्यवस्थापनका लागि निजी कम्पनीमा सरकारी बजेट लगानी नगर्न बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गरायो । तर, नगरपालिकाले नटेर्ने संकेत देखायो । त्यही भएर अब युवा नागरिक समाजले कडा प्रतिरोधमा उत्रिने जनाएको छ ।

‘हामीले आग्रहसहित बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका थियौं , खबरदारी गरेका थियौं’ पत्रकार सम्मेलनमा समाजका अध्यक्ष केशवकुमार भण्डारीले भने,‘अब हामी कडा प्रतिरोधमा उत्रिन्छौं ।’आफूहरुले ध्यानाकर्षण गराउँदा नगरपालिकाले एकलौटी गरेको निर्णय लागु हुँदैन र पुनर्विचार हुन्छ भन्ने विश्वास लागेको थियो भन्दै उनले नगरका जनप्रतिनिधिहरुलाई नगरवासीहरुको अमूल्य मतलाई लत्याएर अमुक कम्पनीमा लगानी नगर्न चेतावनी दिए ।‘ पव्लिक कम्पनी भनेर जनतालाई झुक्याउँदै निजी कम्पनीमा लगानी गर्न खोज्ने ?’उनले प्रश्न गर्दै भने,‘निजी कम्पनीमा नगरपालिकाको लगानी गर्ने होइन , निजी लगानी पनि सरकारी स्वामित्वमा ल्याइनु पर्छ ।’

समाजका सचिव निराजन ओलीले नगरपालिकाले साझेदारी कार्यक्रम गर्दा आफ्नो स्वामित्वमा गर्नुपर्ने नीतिगत व्यवस्था रहेको जिकिर गरे । उनले कानूनी हिसावले त्यो स्वच्छ नभएको भन्दै उनले नगर प्रमुख पवित्रा महतारा प्रसाईको स्वयं लगानी रहेको त्यस कम्पनीमा नीतिगत भ्रष्टाचार गरी नगरपालिकाले लगानी गर्न खोजेको दावी गरे । ‘घुमाइ फिराई कमाई खान मात्र खोजेको हो ’ उनले भने,‘जग्गा खरिदमा पनि ठूलै कमिशनको खेल भएको छ ।’ जग्गा खरिदमा पाएको कमिशनले नै केही व्यक्तिले शेयर हालेको उनको दावी थियो ।

उनले बिर्तामोड नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसकी फोहोरमा राजनीतिक दलले कमाउने धन्दा गरेको आरोप लगाए ।

समाजका सहसचिव पुष्प पाठकले बिर्तामोड नगरपालिकाले फोहोर ब्यबस्थापन गर्न नसकेको र निजी कम्पनीको आडमा दलगत स्वार्थ रहेको बताए ।

कार्यक्रममा सल्लाहकार संयोजक जयनारायण ढुङ्गाना, सल्लाहकार सदस्यहरु जानुका थापा मगर, प्रकाश सिटौला, वरिष्ठ उपाध्यक्ष डिल्लीराम सुब्बालगायतले बोलेका थिए । कार्यक्रम सचिव ओलीले सञ्चालन गरेका थिए । बिर्तामोड नगरपालिकाले कनकाईमा रहेको एक निजी कम्पनीमा दुई करोडभन्दा बढी रकम लगानी गर्ने निर्णय गरेपछि त्यसको विरोध भएको हो । पाँचदलीय गठबन्धनले यसअघि त्यस निर्णयको विरोध गर्दै निर्णय कार्यान्वयन नगर्न चेतावनी दिइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्