बिर्तामोड, असोज १० । तमु ह्युल छोंज धी गुरुङ समाजको जातीय संग्रहालय निर्माण गर्न बिर्तामोड–३ निवासी गंगा गुरुङले पाँच लाख रुपैयाँ सहयोग गरेकी छिन् ।

तमु ह्युल छोंज धी गुरुङ समाज नगर समिति बिर्तामोडको तेस्रो वार्षिक साधारणसभाका अवसरमा बिर्तामोड ३ बुद्धद्धनगरमा निर्माण हुन लागेको गुरुङ संग्रहालयको जग्गाको लागि भूमिदानवापत पाँच लाख रुपैयाँ उनले सहयोग गरेकी हुन् । संग्रहालयको लागि नगर समितिले एक कठ्ठा जग्गा आफै खरिद गरेको तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य आनन्द गुरुङले बताए । उनले संग्रहालयको लागि डेढ करोडको इस्टिमेट गरिएको जानकारी दिए । बिर्तामोड नगरपालिकालगायतको सहयोगमा आगामी मंसिर महिनादेखि संग्रहालयको निर्माण कार्य शुरु गरिनेसमेत उनले जानकारी दिए ।

बिर्तामोड–१०स्थित वडा कार्यालयको सभाहलमा नगर समितिका अध्यक्ष सलबहादुर गुरुङको अध्यक्षतामा आयोजित उक्त साधारणसभालाई प्रमुख अतिथि तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य आनन्द गुरुङले उद्घाटन गरेका थिए । समितिका अध्यक्ष सलबहादुर गुरुङले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष लेखनाथ गुरुङले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा दोस्रो कार्यकालका लागि निर्वाचित बिर्तामोड–१० वडाका वडाध्यक्ष दुर्योधन गुरुङ, २०७८को एसईई परीक्षामा गुरुङ समुदायका विद्यार्थीमध्ये उत्कृष्ट हुने छात्र पेम्बा गुरुङ तथा छात्राद्वय निकिता गुरुङ र रेजिना गुरुङ रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि आनन्द गुरुङ, तमु ह्युल छोंज धी राष्ट्रिय परिषद्का केन्द्रीय सल्लाहकार एवम् सामाजिक व्यक्तित्व जलकुमार गुरुङ, तमु ह्युल छोंज धी झापाका अध्यक्ष टीकाराम गुरुङ, तमु स्यो महिला झापाकी अध्यक्ष अमृता गुरुङ, सम्मानित व्यक्तित्व दुर्योधन गुरुङले शुभकामना मन्तव्य राखेका थिए । समितिका उपाध्यक्ष गोपीचन गुरुङले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव लीला गुरुङले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्