झापा , असोज ११ । शारीरिक रूपमा अपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एकजनालाई पक्राउ गरेको छ ।

लेटाङ नगरपालिका-९ की १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लेटाङ-३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार युवतीका दुवै खुट्टा चल्दैन । हिँडडुल गर्न नसक्ने अवस्थाकी युवतीलाई बलात्कार गरेको भनेर किटानी जाहेरी परेपछि राईलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । लेटाङ-९ मा राईको खेती छ । काम गर्नलाई खेतमा गएका बेला गत शनिबार राति युवतीलाई बोकेर आफ्नै खेतमा रहेको टहरोमा लगी राईले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अपांगता भएकी युवती बलात्कृत भएको दुई दिनपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो । घटनाको जानकारी पाउनसाथ सोमबार पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । राईविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्