झापा, असोज ११ । झापामा फोहोरमैलाको समस्या जटिल बन्दै गएकाले कसैलाई पनि फोहोरमैलामा राजनीति नगर्न कन्काईमा आयोजित कार्यक्रमका सहभागीहरुले आग्रह गरेका छन् ।

‘वातावरण संरक्षणका लागि हाम्रो प्रयास, नविकरणीय ऊर्जाबाट घर–घरमा ग्यास भन्ने मुल नाराका साथ कन्काई २ मा निर्माण भइरहेको कनकाई बिर्ता अर्जुन नविकरणीय ऊर्जा तथा फोहोर मैला ब्यवस्थापन कम्पनीको वार्षिक साधारणसभाका सहभागी वक्ताहरुले त्यस्तो आग्रह गरेका हुन् ।

कन्काई , बिर्तामोड र अर्जुनधारा नगरपालिकाले समेत लगानी गर्नेगरी निर्माण भइरहेको सो परियोजनाका बारेमा केही दिनदेखि सत्तारुढ गठबन्धनले तीब्र विरोध गरिरहेका छन् । कार्यक्रममा बोल्दै संविधानसभा सदस्य तथा नेकपा एमालेका जिल्ला अध्यक्ष दीपक कार्कीले फोहोरमैलाको समस्या जटिल भएकाले फोहोरमैला व्यवस्थापनका लागि निर्माण भइरहेको परियोजनालाई राजनीतिक आँखाले हेर्नुभन्दा गहन अध्ययन गरेर गलत बाटोमा गए सल्लाह सुझाव दिन आग्रह गरे । उनले सबैलाई समेटेर , सबैलाई अपनत्व हुनेगरी लिएर जाऔं भन्दै धेरैभन्दा धेरैलाई समेटेर लगियो भने कसैले औंला उठाउने ठाउँ नरहने धारणा राखे । कार्कीले त्यस परियोजनाका बारेमा सर्वदलीय छलफल भएको स्मरण गर्दै कमीकमजोरी भए औल्याएर अगाडि बढ्नसमेत आग्रह गरे ।

कन्काई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले थाहै नपाई अर्काको कुरा सुनेर विरोध गर्नुभन्दा वास्तविकता बुझेर मात्र विरोध गर्न आग्रह गरे । उनले प्राइभेट कम्पनी भएको भए नगरपालिकाले लगानी गर्न नमिल्ने भन्दै पव्लिक लिमिटेड भएकाले नगरपालिकाले लगानी गर्ने बाटो खुलेको स्पष्ट पारे । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले साल्ट ट्रेडिङ कर्पोरेशन , नेपाल टेलिकमजस्ता कम्पनीमा सरकारले लगानी गर्न मिल्ने तर, फोहोरमैला व्यवस्थापन गर्ने कम्पनीमा नगरपालिकाहरुले लगानी गर्न किन नमिल्ने भनी प्रश्न गरे । उनले फोहोरमैलामा राजनीति नगर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता शेरबहादुर थापा, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण विमली ,कन्काई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले पनि फोहोरमैला व्यववस्थापनमा राजनीतिक दलहरुको साझा अवधारणा आवश्यक भएको बताए । एकजना व्यक्ति , एउटा राजनीतिक दल र सरकार समेतले एक्लै फोहोरमैलाको समस्या हल गर्न नसक्ने भन्दै त्यसमा आम जनसहभागिता जरुरी भएको उनीहरुको भनाई थियो ।

कम्पनीका अध्यक्ष मिनाल तिम्सिनाको अध्यक्षतामा भएको साधारणसभामा निवर्तमान प्रदेश सांसद हिरा थापाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतलाई प्रमुख अतिथिको रुपमा निम्तो गरिएकोमा कांग्रेस कार्यकर्ताहरुले उनलाई कार्यक्रममा आउन नदिएको बताइएको छ । त्यस्तै एमाले इतरका कोही पनि नेता कार्यकर्ता कार्यक्रममा उपस्थित भएनन् । सत्तारुढ गठबन्धनले कार्यक्रममा नजान उर्दी नै जारी गरेको बताइएको छ । संचालक सदस्य कुमारमणि पाखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन कम्पनीको प्रवन्ध निर्देशक दीपक चापागाईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्