बिर्तामोड, असोज १३ । पर्यटन प्रवर्द्धन अभियानमा गरेको योगदानको कदर गर्दै प्रदेश सरकारले झापाको बिर्तामोडस्थित होटल हिकोला हेरिटेजका सञ्चालक एवम् हिमालयन टुर एण्ड ट्राभल्स (अनुपमा) का प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठलाई सम्मान गरेको छ ।

विश्व पर्यटन दिवसको अवसर पारेर प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले विराटनगरमा आयोजित समारोहका बीच व्यावसायिक क्षेत्रका अगुवा श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको हो ।

‘विश्व पर्यटन दिवस २०२२ ः अतिथिको सत्कार नेपालीको संस्कार’ भन्ने नाराका साथ मनाएको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले होटल सञ्चालक श्रेष्ठलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, होटल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष राजन दंगाल लगायतको पनि सहभागिता रहेको थियो ।

लामो समयदेखि श्रेष्ठ पर्यटन प्रवर्द्धन अभियानमा सहभागी छन् । साढे तीनदशक अघिदेखि फोटोग्राफीमार्फत श्रेष्ठले पर्यटकीय क्षेत्रको प्रचार अभियान सुरु गरेका थिए । फोटोग्राफीका लागि हिकोला कलर ल्याव नेपालमा प्रसिद्ध छ ।
फोटोग्राफी बाहेक अनुपमा ट्राभल्समार्फत पनि श्रेष्ठले निरन्तर पर्यटन क्षेत्रमा योगदान गर्दै आएका छन् । बिर्तामोडमा होटल हिकोला हेरिटेज सञ्चालनमा छ । श्रेष्ठले काँकडभिट्टामा पनि होटल हिकोला हेरिटेज सञ्चालनमा ल्याएका छन् ।

‘जुन सम्मान मैले पाएँ, प्रदेश सरकारले यसको सुरुवात गरेको छ’, श्रेष्ठले भने, ‘आगामी दिनमा पर्यटन क्षेत्रमा योगदान गर्नेलाई उनीहरुको योगदानका आधारमा सम्मान गर्दै लैजानुपर्छ ।’ भाषा, कला साहित्य र संगीतको क्षेत्रमा पनि श्रेष्ठको योगदान रहँदै आएको छ । साहित्य चौतारीको संस्थापक संरक्षकका रुपमा श्रेष्ठले आफ्नो साहित्यिक कर्मलाई शीरमा राख्दै आएका छन् ।

यसैबीच प्रदेश सरकारको सहयोगमा विराटनगरमा पर्यटन सूचना केन्द्र पनि स्थापना गरिएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर सूचना केन्द्र स्थापना गरिएको हो । चेम्वर अफ कमर्सको अग्रसरतामा सूचना केन्द्र स्थापना गरिएको छ । केन्द्रमार्फत पूर्वी नेपालका पर्यटकीय क्षेत्रको विषयमा आवश्यक सूचना र जानकारी दिन सकिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्