झापा, असोज १३ । सत्ता गठबन्धन दलहरूबीचको भागवन्डामा नेकपा माओवादी केन्द्रको भागमा झापा क्षेत्र नं २ र ५ परेपछि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा जोगिएका छन् ।

यसअघि गठबन्धन दल माओवादी केन्द्रले झापा क्षेत्र नं १ र ५ दावी गर्दै आएको थियो । माओवादीले झापा क्षेत्र नं १ नछोडेको भए विश्वप्रकाशले प्रतिनिधिसभा निर्वाचनमा उठ्न पाउने थिएनन् ।
त्यस क्षेत्रमा माओवादीका राम कार्की (पार्थ )ले दावी गरिरहेका थिए । तर, माओवादीले झापा क्षेत्र नं २ र ५ पाउने भएपछि विश्वप्रकाश टिकटका लागि सुरक्षित भएका छन् । झापा क्षेत्र नं २ का लागि कांग्रेसबाट सिफारिस भएका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी ,अर्का केन्द्रीय सदस्य सरिता प्रसाई , पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी , महाधिवेशन प्रतिनिधिहरु छत्रबहादुर गिरी , जलकुमार गुरुङ र विद्यार्थी नेता नवीनराज प्रसाईको आकांक्षा अधुरै रहने भएको छ । सिफारिस भएका ती पाँच आकांक्षीमध्ये बुढाथोकी र गिरी प्रवल दावेदार रहेका थिए ।
माओवादीका तर्फबाट झापा क्षेत्र नं २ मा राजु आचार्य (अग्नि) र ५ बाट रन्जित तामाङ सिफारिस भएका थिए । झापा क्षेत्र नं १ मा नपाउने भएपछि अब राम कार्कीलाई क्षेत्र नं २ बाट उठाउने बुझिएको छ । क्षेत्र नं २ बाट आफ्नो एकल नाम सिफारिस भएकोमा अब कसलाई पार्टीले उम्मेदवार बनाउने हो त्यो निर्णय हुन बाँकी रहेको जिल्ला संयोजक राजु आचार्य (अग्नि) ले बताए । झापा क्षेत्र नं १ मा विश्वप्रकाशसंगै कांग्रेसको भागमा परेको क्षेत्र नं ३ मा कृष्णप्रसाद सिटौला र ४ मा देउकुमार थेबे सिफारिस भएका छन् ।
गठबन्धन दलहरुले प्रतिनिधिसभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन्। सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चित छ। कांग्रेसले ८५ सिट लिएको छ। राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ ।



