झापा, असोज १३ । पूर्व राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य धर्मशीला चापागाई झापा क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने भएकी छिन् ।

माओवादी केन्द्रले झापाको दुईवटा निर्वाचन क्षेत्र २ र ५ पाएकोमा क्षेत्र नं २ बाट धर्मशीला चापागाई उम्मेदवार बन्ने भएकी हुन् । आफू उम्मेदवार बन्ने निर्णय भइसकेको चापागाईले बताइन् । माओवादीले झापाको २ र ५ पाउने भएपछि २ बाट आफूलाई उम्मेदवार बनाउने अध्यक्ष पुष्पकमल दाहालबाट निर्णय भई खबर प्राप्त भएको उनले जानकारी दिइन् ।
२०२९ सालमा जन्मिएकी बुवा डिल्लीप्रसाद चापागाई र आमा गंगामाया चापागाईकी छोरी धर्मशीला २०६३ सालमा अन्तरिम विधायिका भएकी थिइन् । त्यसपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी त्यसबेलाको झापा क्षेत्र नं ४ बाट निर्वाचित भएकी थिइन् । त्यसक्रममा उनी राज्यमन्त्री समेत भएकी थिइन् ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं ३ बाट निर्वाचन लड्दा उनी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासंग पराजित भएकी थिइन् । २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन नलडेकी उनी समानुपातिक सांसद बनेकी थिइन् । उनका श्रीमान् शंकर घिमिरे तत्कालीन शाहीकालमा सेनाको यातनाबाट मारिएका थिए ।



