झापा, असोज १४ । दृढ भएर लागेका नेकपा एमालेका देवराज घिमिरेले झापा क्षेत्र नं २ बाट टिकट पाउने संभावना बढेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं २ बाट सिफारिस भएका चारजनामध्ये घिमिरे टिकटको होडमा सबैभन्दा अग्रपंक्तिमा पुगेका छन् ।

उनीसंगै प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट अग्नि खरेल, पवित्रा निरौला खरेल र ध्रुवकुमार शिवाकोटी सिफारिस भएका छन् । टिकटको दौडमा घिमिरे र खरेल मात्र अगाडि देखिएकोमा घिमिरेले खरेललाई पछि पारेका छन् ।

झापा क्षेत्र नं २ मा घिमिरेले टिकट पाउने कुरा प्रायः निश्चितजस्तै भएको एमालेका एक जिल्ला नेताले बताए । उनले अर्का प्रवल दावेदार खरेललाई क्षेत्र नं १ मा पठाउने गरी तयारी भइरहेको जानकारी दिए ।‘ देवराज घिमिरेले टिकट पाउने पक्काजस्तै भइसक्यो ’उनले भने,‘अग्नि खरेललाई क्षेत्र नं १ मा पठाउने तयारी भइरहेको छ ।’ तर, खरेलले क्षेत्र नं १ मा जान नमानिरहेको उनले बताए । खरेल क्षेत्र नं १ मा जान मन्जुर भए त्यहाँबाट सर्वसम्मत सिफारिस भएका रविन कोइरालालाई प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनाउने पार्टीको सोच रहेको समेत उनले खुलाए। संविधानसभा सदस्य भइसकेका कोइरालालाई प्रदेशसभा निर्वाचनको उम्मेदवारमा झारेर विजयी भए त्यही किसिमको गहन जिम्मेवारी दिने योजना रहेको उनले सुनाए ।

बिर्तामोडका एक जिम्मेवार नगरस्तरीय नेताले पनि अब झापा २ मा अग्नि खरेलको चर्चा सेलाउँदै गएको बताए । घिमिरेले छोड्दा मात्र खरेलले टिकट पाउने संभावना देखिएको उनले बताए । घिमिरे र खरेल दुवैजना एमाले अध्यक्ष केपी ओलीको ‘दाहिने हात’को रुपमा मानिन्छन् ।

पार्टी वरियताक्रम दुवैको समान छ । दुवै स्थायी कमिटी सदस्य हुन् । तर, जिम्मेवारी घिमिरेको बढी छ । घिमिरे प्रदेश इन्चार्ज हुन् भने खरेल जिल्ला इन्चार्ज । राज्यको अवसर भने खरेलले धेरै पाएका छन् । खरेल पहिलो र दोस्रो संविधानसभामा एमालेका तर्फबाट मनोनित सांसद थिए। उनी एमालेको कानुन विभागमा रहेर लामो समयदेखि काम गर्दै आएका वरिष्ठ अधिवक्ता हुन्। पूर्व कानून मन्त्री रहेका खरेल ओली सरकारमा महान्यायाधिवक्ता थिए । पछिल्लो समय उनी जिल्ला इञ्चार्जको जिम्मेवारी लिएर झापामा नै बस्दै आएका छन् । झापा क्षेत्र नं २ बाट उठ्नकै लागि उनले बिर्तामोडमा घर किनेका थिए ।

त्यस्तै बिर्तामोड ४ निवासी घिमिरे राष्ट्रिय सभा सदस्य भएका थिए । उनी सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष हुन् । घिमिरे २०४८ सालदेखि राजनीतिमा सक्रिय छन् । पार्टीको जिम्मेवार पदमा रहेर पनि अहिलेसम्म खासै अवसर नखोजेका शालीन स्वभावका घिमिरे टिकटका लागि दृढ भएर लागेका छन् । एमालेबाट घिमिरेले टिकट पाउँदा उनको प्रतिष्पर्धा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार धर्मशीला चापागाईँसंग हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्