भद्रपुर, असोज १५ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।

प्रतिनिधिसभाका ५ वटा निर्वाचन क्षेत्र तथा प्रदेशसभाका लागि १० वटा निर्वाचन क्षेत्र रहेको झापामा सवै निर्वाचन क्षेत्रहरूको समन्वय गर्ने गरी मुख्य निर्वाचन कार्यालय सञ्चालनमा ल्याइएको हो ।

जिल्ला समन्वय समिति झापाको कार्यालयबाट सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले झापा क्षेत्र नम्वर ३ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हेर्ने छ । झापामा रहेका राजनीतिक दल, सञ्चारकर्मी, प्रहरी प्रशासनका प्रमुखको उपस्थितिमा सो कार्यालयको उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले गरेका थिए ।कार्यक्रममा स्वागत गर्दै जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले स्थानीय तह निर्वाचनमा जस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि झापाबासीको उत्साहप्रद सहभागितामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले यस पटकको निर्वाचनमा क्षेत्रगत रूपमा निर्वाचन कार्यालय रहने जानकारी दिँदै ती कार्यालय कार्तिक २० गतेभित्र खुलिसक्ने जानकारी दिए ।

उनका अनुसार झापा १ को निर्वाचन कार्यालय मेचीनगरमा, २ को अर्जुनधारा नगरपालिकामा, ३ को भद्रपुरमा, ४ को कन्काई नगरपालिकामा र ५ को दमकमा निर्वाचन कार्यालय सञ्चालन हुने छन् ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले झापा जिल्लामा दलीय एकताले निर्वाचन सफल पार्न महत्वपूर्ण सहयोग हुने गरेको भए पनि स्थानीय तह निर्वाचनमा अन्तिम समयमा निर्वाचन आचारसंहिता उल्लंघनका केही घटना देखिएकाले यस निर्वाचनमा त्यस्ता घटना दोहोरिन नहुने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि रमेश पोखरेल, नेकपा एमालेका असारू राजवंशी, नेकपा समाजवादीका वेदराज रेग्मी, राप्रपाका अभिषेक ढुंगानालगायतले धारणा राख्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता राखेका थिए भने कार्यक्रमको सहजीकरण झापा जिल्लाका स्रेस्तेदार वीरेन्द्र बस्नेतले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्