झापा, असोज १५ । आगामी मंसिर ४ को निर्वाचनका लागि झापामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनाबी तालमेल सहमति नजिक पुगेको छ ।

राप्रपाले एमालेसंग प्रतिनिधिसभा निर्वाचनतर्फ एउटा सिट र प्रदेशसभा निर्वाचनतर्फ दुईवटा सिट एमालेसंग प्रस्ताव गरेको थियो ।त्यसमा झापा क्षेत्र नं ३ राप्रपालाई दिने सहमति भइसकेको छ । जुन क्षेत्रबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवारको रुपमा उठ्दैछन् । उनले अघिल्लो आम निर्वाचनमा सोही क्षेत्रबाट एमाले र माओवादीसंग चुनावी तालमेल गरेर निर्वाचन जितेका थिए ।

प्रदेशसभातर्फ राप्रपाले झापा क्षेत्र नं २ ‘क’ सहित दुईवटा सिट मागेकोमा एमालेले झापा क्षेत्र नं २ ‘क’ दिन नसक्ने अडान राखेको छ । राप्रपाले झापा क्षेत्र नं २ ‘क’ मा भक्ति सिटौलालाई उठाउने गरी मागेकोमा एमालेले अस्वीकार गरेको एमालेका एकजना नेताले बताए । उनले राप्रपाले प्रदेशसभातर्फ दुईवटा सिट मागेकोमा एउटा दिनेगरी सहमतिको प्रयास भइरहेको जानकारी दिए । झापा क्षेत्र नं २ ‘क’ एमालेले आफै राखेर झापा क्षेत्र नं ४ ‘ख’ राप्रपालाई दिने विषयमा पार्टीमा छलफल चलिरहेको उनको भनाई छ । एमालेले झापा क्षेत्र नं २ ‘क ’ मा एकराज कार्की र २ ‘ख’ मा चिन्तन पाठकलाई उठाउने तयारी गरेको बुझिएको छ ।

राप्रपाले प्रतिनिधिसभा निर्वाचनतर्फ एउटा र प्रदेशसभातर्फ दुईवटा सिट मागेकोमा झापा क्षेत्र नं ३ राप्रपालाई दिने सहमति भइसकेको राप्रपा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले बताए । उनले प्रदेशसभातर्फको भागवन्डा पनि मिल्न लागेको जानकारी दिए । ‘हामीले प्रदेशसभा निर्वाचनमा दुईवटा सिट मागेका छौं’ उनले भने,‘ एउटामा उहाँहरु मन्जुर हुनुहुन्छ बाँकी अर्कोको विषयमा छलफल हुँदैछ ।’ एक–दुई दिनमै टुंगिने उनको भनाई छ ।

जरिवाना तिरेर ३ जना समानुपातिक उम्मेदवार

झापामा राप्रपाका तीनजना निर्वाचन आयोगलाई जरिवाना तिरेर समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका छन् । गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्दा निर्वाचन खर्चको विवरण नबुझाउँदा उनीहरुले जरिवाना तिर्नुपरेको हो । जरिवाना नतिरी समानुपातिकको बन्दसूचीमा पर्न नसकिने भएपछि कचनकवलका अन्जरा आलम , निमसरी राजवंशी र बिर्तामोडकी रन्जु प्याकुरेलले जरिवाना तिरेका हुन् । कचनकवल गाउँपालिकाको अध्यक्षमा उठेका आलम र उपाध्यक्षमा उठेकी राजवंशीले जनही साढे तीन लाखका दरले जरिवाना तिरेका छन् भने बिर्तामोड नगरपालिकाको उपप्रमुखमा उठेकी प्याकुरेलले साढे चार लाख जरिवाना बुझाएको जिल्ला अध्यक्ष ओझाले बताए । आलम प्रतिनिधिसभा तथा राजवंशी र प्याकुरेल प्रदेशसभा निर्वाचनका लागि समानुपातिकको बन्दसूचीमा परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्