झापा , असोज १० । भद्रपुर भन्सार कार्यालयले भद्रपुर नाकाबाट पनि निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारीसाधनलाई आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ ।

भन्सार कार्यालयले शुक्रवारदेखि भद्रपुर बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको हो । यसअघि असोज १० गतेदेखि मेची भन्सार कार्यालयले काँकडभिट्टा नाकाबाट निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको थियो ।

कोरोना महामारीको शुरुवातदेखि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले नेपालको स्थानीय बजार भद्रपुरमा प्रवेश गर्न भारतीय सवारीसाधनलाई निःशुल्क पासको सुविधा बन्द गरिएको थियो ।
शुक्रवारदेखि नेपाल सरकारले स्थानीय बजार भद्रपुरमां प्रवेश गर्न भारतीय सवारीसाधनलाई निःशुल्क पासको सुविधा शुरू गरेकोमा भारतीय सीमावर्ती क्षेत्र गलगलिया, डेंगूजोत, देवीगंज, चक्करमारी, ठाकुरगंजलगायतका क्षेत्रका बासिन्दाहरुले खुशी व्यक्त गरेका छन् ।

भारत–नेपाल मैत्री संघका सदस्य एवं भातगाउँका पूर्व मुखिया गणेशप्रसाद रायले नेपाल सरकारको सो निर्णयलाई स्वागत गर्दै यसबाट भारत–नेपालको सम्बन्धमा थप सहयोग पुग्ने र व्यापारको दृष्टिकोणले पनि राम्रो पहल भएको बताएका छन् । झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठले पनि सरकारको सो निर्णयप्रति धन्यवाद दिँदै दुवैं देशबीचको व्यापार र रोटी बेटी सम्बंधलाई मध्यनजर गरी राम्रो पहल भएको बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्