अर्जुनधारा, असोज १७ । तेस्रो खुदुनाबारी गोल्डकपको उपाधि धनकुटा महिला फुटबल क्लब धनकुटाले जितेको छ ।

प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको हिजो सम्पन्न फाइनल खेलमा टाईब्रेकरमा आयोजक टिम जुनतारा महिला फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै धनकुटाले उपाधि जितेको हो ।

झापाको अर्जुनधारा नगरपालिका ३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा निर्धारित ७० मिनेटको खेलमा दुवै टिमले १–१ को बराबरी गोल गरेपछि टाइब्रेकर खेलाइएको थियो । खेलको ३४ औं मिनेटमा धनकुटाले पाएको फ्रिकिकको सदुपयोग गर्दै धनकुटाकी टिम कप्तान अन्जना थुलुङ राईले गरेको प्रहार जुनताराको पोष्टमा गोलमा परिणत भएको थियो । तर जुनताराले इन्जुरी टाइममा पाएको फ्रिकिकको अवसरलाई सन्जना राई(सन्जु)ले प्रहार गर्दा धनकुटाकी गोलकिप्पर सजिया क्षेत्रीले बचाउ गर्न नसकेपछि खेल बराबरीमा सकिएको थियो ।

टाईब्रेकरमा धनकुटाकी गोलकिप्पर सजिया क्षेत्री, कप्तान अन्जना थुलुङ राई र समीक्षा पौडेलले गरेको प्रहार जुनताराकी गोलकिप्पर जसदा लावतीले बचाउ गर्न सकिनन् । सन्ध्या रम्तेलको प्रहार भने उनले विफल बनाएकी थिइन् । जुनताराका खेलाडी अन्जना राई, लक्ष्मी श्रेष्ठ र नेहा चौधरी तीनै जनाको प्रहार भने गोलमा परिणत हुन नसक्दा टिमले पराजय बेहोर्नु पर्यो । अन्जनाको प्रहार धनकुटाकी गोलकिप्पर सजिया क्षेत्रीले विफल बनाइन् भने लक्ष्मी र नेहाले प्रहार गरेको गोल पोष्टमा ठोक्किएर फर्किएको थियो ।

जितसंगै विजेता धनकुटाले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी पाएको छ । उपविजेता बनेको आयोजक टिम जुनताराले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी पाएको छ । प्रतियोगितामा बेस्ट गोलकिपर धनकुटाकी सजिया क्षेत्री, बेस्ट डिफेन्स जुनताराकी सुस्मिता चौधरी, हाइस्कोरर जुनताराकी अनिता लम्जेल घोषित भइन् । उनले सर्वाधिक ५ गोल गरेकी थिइन् । वमेन अफ दी टुर्नामेन्ट धनकुटाकी कप्तान अन्जना थुलुङ राई घोषित भइन् । उनीहरुले जनही ट्रफीसहित नगद ५ हजार प्राप्त गरे । त्यस्तै प्रतियोगितामा राइजिङ युथ प्लेयरको उपाधि आयोजक जुनताराकी कप्तान ममता राउतले प्राप्त गरिन् । उनले नगद ५ हजार हात पारिन् । समापन समारोहमा प्रदेश १ सरकारका कृषि तथा पशुपंन्छी मन्त्री झलकसिंह दर्लामीको प्रमुख आतिथ्यता रहेको थियो ।

अर्जुनधारा नगरपालिका मुख्य प्रवर्द्धक रहेको गोल्डकपलाई च्यारिटी युथ क्लबले आयोजना गरेको थियो भने सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्