झापा, असोज १८ । आज आश्विन शुक्ल नवमी । मंगलबार महानवमी पर्व मनाइँदैछ।

महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्।चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ। यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ।
अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि महानवमीमा हवन गर्ने विधान छ। यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ।
नवमीमा पनि शक्तिपीठ तथा दशैँघरमा पशुबलि दिने परम्परा छ। पशुबलि नदिने वा शाकाहारीले भने कुभिण्डो, घिरौँला र नरिवल चढाउँछन्। लौकिक रूपमा यो दिन बाहन अर्थात् आफू चढ्ने सवारीसाधनको पनि पूजा गर्ने चलन छ।
शक्तिपीठको दर्शन गर्ने क्रम नवमीका दिन पनि रहन्छ।
नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ। देवीका तीन रूपमध्ये महाकालीलाई शक्ति, महालक्ष्मीलाई श्री र महासरस्वतीलाई विद्याकी देवी मानिएको छ।

नौ दिनसम्मको नवरात्र अनुष्ठान यो तिथि (महानवमी) मा सम्पन्न गरिन्छ। नवदुर्गाको प्रसाद भने दशमीका दिन बिहान लगाइन्छ। आश्विन शुक्ल प्रतिपदाका दिन स्थापना गरेको घडाको जल अभिषेक गरी देवीको प्रसाद फूल अक्षता तथा जमरा मान्यजनबाट ग्रहण गर्ने परम्परा छ। महानवमी पर्वका अवसरमा झापा गरामनीको धार्मिक , ऐतिहासिक एवं पुरातात्विक दुर्गा मन्दिरमा रातिदेखि नै भक्तजनहरुको भीड लागेको छ । राति १ बजेदेखि सयौं भक्तजनहरुको भीड लागेको मन्दिरका पुजारी मोहन घिमिरेले बताए । पानी परिरहेपनि भक्तालुहरु पानीमा भिज्दै लाइनमा लागेर दर्शन गरिरहेको घिमिरेले बताए । अनादिकालमा स्थापना भएको गरामनीको ऐतिहासिक दुर्गा मन्दिरमा महानवमीका दिन महापूजा र एकादशीका दिन मेला लाग्ने गरेको छ ।