द्रोण अधिकारी,
भद्रपुर । नेपाली काँग्रेसको राजनीतिमा झापाबाट प्रभाव जमाइरहेका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रत्यक्ष निर्वाचनका लागि झापाबाट उम्मेदवारी दिने भएपछि कार्यकर्ता उत्साहित भएका छन् ।

काँग्रेस महामन्त्री शर्माले झापा क्षेत्र नम्वर १ बाट तथा पूर्व महामन्त्री सिटौलाले क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी दिने भएपछि काँग्रेस कार्यकर्तामा उत्साह बढेको हो ।
राष्ट्रिय राजनीतिमा छवि बनाएका शर्मा र सिटौला आफ्नो गृहजिल्ला झापामा आम कार्यकर्ताको भावना र चाहना अनुसार प्रत्यक्षतर्फ उम्मेद्वार बन्न लागेका हुन् । दोस्रो संविधानसभा निर्वाचनदेखि झापा १ बाट चुनावी मैदानमा उत्रेका शर्मा जीत निकाल्न प्रयासरत छन् भने २०४८ सालदेखि निरन्तर चुनावी मैदानमा झापा क्षेत्र नम्बर ३ बाट भिडिरहेका सिटौलाले उपनिर्वाचनसहित ३ वटा निर्वाचनमा जीत निकालेका थिए भने ३ वटा निर्वाचनमा पराजय ब्यहोरेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका सिटौला २०७४ को आम निर्वाचनमा राप्रपाका तत्कालीन महामन्त्री राजेन्द्र लिङ्देनसित नेकपा एमाले र माओवादीको सहयोगमा पराजित भएका थिए ।

चार दशक लामो जनताको माग रहेको हुलाकी सडक निर्माणको अभियान पूरा गराउन महत्वपूर्ण भूमिका खेलेका सिटौलाले दशकयता दक्षिणी झापाको समस्याका रूपमा रहेको हात्ती उपद्रो नियन्त्रणका लागि ९ करोडको योजना ल्याएको दावी गरेका छन् । गिरिजाप्रसाद कोइरालाको स्मृतिमा अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणको थालनी गराएका सिटौलाले २०७४ को निर्वाचनमा पराजय भोग्नु परेपछि सो सभाहलसहित सडक, खानेपानी, सामुदायिक भवन, विभिन्न जातीय संग्रहालयजस्ता दर्जनौं आयोजना अलपत्र छन् । ती आयोजनाका अधुरा काम पूरा हुने आशा राखेका झापा ३ का काँग्रेस कार्यकर्ताले सिटौलाले यस निर्वाचनपछि पनि जनताका पक्षमा भूमिका खेल्न सक्ने बताएका छन् ।

सिटौलाले सांसद भएका वखत पहल गरी झापा क्षेत्र नम्वर ३ मा आएका योजना र भएका विकास निर्माणका कामहरुबारे जनस्तरमा पुर्याउन सवै कार्यकर्ता लागिपर्ने तरुण दल झापा क्षेत्र नम्बर ३ का सभापति खड्कबहादुर लिम्बूको भनाइ छ । उनका अनुसार विद्यालय, ग्रामीण सडक, मठमन्दिर, बाँध, पैनी निर्माणजस्ता जनतामा प्रत्यक्ष सरोकार राख्ने करोडौंका योजनाहरु झापा क्षेत्र नम्बर ३ ले सांसद सिटौलाको पहलमा प्राप्त गरेको थियो । देशका राजनीतिक समस्या समाधान गर्न पनि सिटौलाको नेतृत्व आवश्यक रहेको लिम्बूको भनाइ छ ।

यस्तै झापा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति गणेश पोखरेलको भनाइ अनुसार २०४८ सालको निर्वाचनयता निरन्तर रुपमा झापा क्षेत्र नम्वर ३ मा जनताको प्रतिनिधित्वका लागि लडिरहने एक मात्र नेता सिटौला हुन् । उनले निर्वाचन हारे पनि जिते पनि आफ्नो क्षेत्र छोडेका छैनन् । २०४८ सालयता भएका निर्वाचनमा सो क्षेत्रबाट नेकपा एमाले २ पटक, नेपाली काँग्रेस ३ पटक र माओवादी केन्द्र एक पटक तथा राप्रपा एक पटक निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्