झापा, असोज १९ । आज दशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजयादशमी मनाइँदैछ ।

टीकाको साइत खोजेर लगाउनेहरूका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई आज बिहान १० बजेर ३४ मिनेटमा विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन सकिनेछ । यद्यपि साइत नखोज्नेहरूले आज दिनभर जुनसुकै बेला टीका लगाउन सक्नेछन् । टीका लगाउने व्यक्ति पूर्व फर्केर बस्ने र लगाइदिने व्यक्तिले उत्तर–पश्चिम फर्केर लगाइदिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तिको प्रतीकका रूपमा मनाइने विजयादशमी दशँैंको महत्वपूर्ण दिन हो । देवीको प्रसादका रूपमा आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  ।

विगतमा कोरोना महामारीले केही खल्लो भएको दशैँ यस वर्ष धेरै उत्साहका साथ मनाइँदैछ । दशैँ मनाउन झन्डै २० लाख मानिस काठमाण्डौ उपत्यका छोडेर गाउँघर पुगेका छन् । त्यस्तै भारत र विदेशमा रहेकाहरू पनि दशैँका लागि मुख्य थलोमा फर्किएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्