भद्रपुर, असोज १९ । नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच भद्रपुर विमानस्थलमा जम्काभेट भएको छ ।

चुनावी रौनकले छोइसकेको अवस्थामा दशैं मानेर गृहजिल्ला झापाबाट काठमाडौं फर्कने क्रममा भद्रपुर विमानस्थलमा ओली र शर्माको जम्काभेट भएको हो ।

हवाइजहाज अवतरणमा केही ढिलो भएपछि दुई नेताबीच झण्डै ४५ मिनेट संवाद भएको कांग्रेस नेता देवेन्द्र गौतमले सार्वजनिक गरेका छन् ।
भेटका क्रममा एमाले अध्यक्ष ओलीले कांग्रेस महामन्त्री शर्मासँग गठबन्धनका विषयमा जिज्ञासा राखेका थिए भने जवाफमा शर्माले गठबन्धनले स्पष्ट बहुमत ल्याउने गरी अघि बढेको बताएको जनाइएको छ ।

एमाले र कांग्रेस दुबै आफ्नै बलबुतामा हिँड्न नखोजेको र एउटाको कमजोरीमा टेकेर अर्को उठ्न खोज्ने परिस्थिति बन्नु दुखद भएको शर्माले बताउँदा ओली सहमति जनाएका थिए ।
एमाले अध्यक्ष ओली झापा ५ बाट चुनाव लड्दैछन् भने कांग्रेस महामन्त्री शर्मा झापा १ बाट लड्ने पक्का भएको छ । पाँचदलीय गठबन्धनको भागवन्डामा झापा ५ माओवादी केन्द्रले पाउने सम्भावना छ भने शर्माको क्षेत्र १ मा एमालेबाट रविन कोइरालाको नाम एकल सिफारिस भएको भए पनि अग्नि खरेलले टिकट हात पार्ने चर्चा चलेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्