झापा, असोज २१ । एमाले अध्यक्ष केपी ओली उठ्ने भएको झापा क्षेत्र नं ५ बाट नेकपा माओवादी केन्द्रले भागवन्डा पाएर पनि आफ्नो उम्मेदवार नउठाउने भएको छ ।

गठबन्धनको भागवन्डामा माओवादीले झापाको पाँचवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं २ र ५ पाएकोमा मनोनयनको संघारमा आएर उसले ओलीको क्षेत्र नं ५ मा उम्मेदवारी नदिने भएको हो । माओवादी नउठ्ने भएपछि क्षेत्र नं ५ बाट कांग्रेसले महेन्द्राकुमारी सुब्बा वा खगेन्द्र पाण्डव अधिकारीमध्ये एकजनालाई उठाउने भएको छ ।

माओवादीले आफ्नो सम्पूर्ण शक्ति क्षेत्र नं २ मा लगाउने भएको हो । त्यस क्षेत्रमा माओवादीकी धर्मशीला चापागाई उठ्दैछिन् । क्षेत्र नं ५ छोडेको माओवादीले प्रदेश ५ को ‘ख’ बाट गगन पुरीलाई उठाउने भएको छ । त्यस्तै माओवादीले प्रदेश १ को ‘क’ , प्रदेश ३ ‘ख’ र प्रदेश ४ ‘क’बाट आफ्ना उम्मेदवार उठाउने भएको छ । प्रदेश ३ ‘ख’ बाट निवर्तमान सांसद पूर्णप्रसाद राजवंशी र ४ ‘क’ बाट निवर्तमान सांसद झलकसिंह दर्लामी उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेसले भने झापा क्षेत्र नं १ बाट विश्वप्रकाश शर्मा , ३ बाट कृष्णप्रसाद सिटौला, ४ बाट देउमान थेबेलाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १ को ‘ख’ बाट गोपाल तामाङ, २ को ‘ख’ बाट खगेन्द्र मैनाली उम्मेदवार बन्ने भएका छन् ।कांग्रेसले अन्य प्रदेश क्षेत्रमध्ये ४ को ‘ख’ र ५ को ‘क’ आफ्नो भागमा पाएको छ ।

गठबन्धनमध्येको एकीकृत समाजवादीले दुईवटा प्रदेश क्षेत्र पाउने देखिन्छ । क्षेत्र नं २ को ‘क’ र ३ को ‘क’ बाट एकीकृत समाजवादीले उम्मेदवारी दिने निश्चित भएको हो । उसले ३ वटा प्रदेश क्षेत्र दावी गर्दै आएको छ । क्षेत्र नं २ को ‘क’ बाट निलमणि बराल र ३ को ‘क’ बाट पुष्प पोखरेल उम्मेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्