झापा, असोज २२ । झापाको घैलाडुब्बा क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परी दुई दिनमा दुईजनाको मृत्यु भएको छ ।
गएराति ९.४५ बजे कनकाई ९ स्थित घैलाडुब्बा–राजगढ भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०४० प ७६४० नं.को मोटरसाइकल आफै अनियन्त्रित भई नालामा छिरी दुर्घटना हँुदा मोटरसाइकल चालक सप्तरी सप्तकोशी नगरपालिका –९ फत्तेपुर बस्ने अन्दाजी बर्ष ४० का केशब गौतमको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक गौतम र पछाडि सवार उनका छोरा अन्दाजी बर्ष १२ का संकेत गौतम घाइते भएकोमा बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा राति १०.३० बजे बाबु केशव गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।
त्यस्तै बिहीवार दिउँसो १ बजे बाह्रदशी गाउँपालिका ७ लखरीगद्धीस्थित भित्री सडकखण्डमा दक्षिणबाट उतरतर्फ आउँदै गरेको १५० सिसिको अनटेष्ट पल्सर मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी तत्काल नाम, थर, वतन नखुलेको मागी खाई हिँडने बर्ष अन्दाजी ६० की बृद्धालाई ठक्कर दिएको थियो । ठक्करबाट बृद्धाको हात, खुट्टा र मुखमा चोट लागेको थियो भने मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षिय कुशल मुर्मूसमेत घाइते भएका थिए । दुबै घाईतेलाई बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । घाइते बृद्धालाई थप उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा राति ७.५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
बृद्धाको शव तत्काल सोही अस्पतालमा रहेको र मोटरसाइकल चालक मुर्मूलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




