झापा, असोज २५ । भागवन्डामा झापा क्षेत्र नं २ कसले पाउने भनेर सत्तारुढ गठबन्धन दलहरुभित्र निकै लामो रस्साकस्सी चल्यो । कांग्रेसले दावी गरिरहँदा हेडक्वाटरसंग राम्रो सम्बन्ध रहेकी माओवादीकी धर्मशीला चापागाईले आफ्नो लागि झापा २ माओवादीको भागमा पारिन् ।

टिकटको दौडमा रहेका कांग्रेसका केशवकुमार बुढाथोकी, सरिता प्रसाई , छत्रबहादुर गिरी , जलकुमार गुरुङसंगै त्यस क्षेत्रमा माओवादीबाट एकल सिफारिस भएका राजु आचार्य ‘अग्नि’समेत जिल्ल परे । त्यसरी हत्याएको टिकट आखिर धर्मशीलाले मनोनयनको अघिल्लो दिन हरि रानालाई सुम्पिन् । झापा क्षेत्र नं २ बाट उठ्न पाउने भएपछि एमालेका प्रदेश कमिटी सदस्य रानाले वर्षौदेखिको एमाले पार्टी परित्याग गरे । कांग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनका तर्फबाट झापा २ मा उम्मेदवारी दिएका राना मंसिर ४ मा माओवादीको चुनाव चिन्ह हसिया हथौडा लिएर निर्वाचन लड्दैछन् । यद्धपि उनले आफू माओवादीको उम्मेदवार नभएर स्वतन्त्र उम्मेदवार भएको बताउँदै आएका छन् ।

नेकपा माओवादीका जिल्ला संयोजक राजु आचार्य ‘अग्नि’ हरि रानाको उम्मेदवारीपछि विपक्षी एमाले गठबन्धनसंग प्रतिष्पर्धा बढेको बताउँछन् । ‘झापा २ पाएर माओवादीले यसअघि उम्मेदवार तय गरिरहँदा विपक्षी एमालेका देवराज घिमिरेसंग प्रतिष्पर्धा गर्न गाह्रो देखिएको थियो ’ उनले भने,‘ अब चाहिँ कडा प्रतिष्पर्धा हुन्छ ।’ यसअघिका माओवादीका उम्मेदवार धर्मशीलाले निर्वाचन हार्ने डरले टिकट परित्याग गरेकी हुन् । उनले आफूसंग चुनाव लड्ने पैसा नहुँदा टिकट अरुलाई दिनुपरेको स्पष्ट पारेकी थिइन् । आफूसंग २ करोड रकम नभएका कारण निर्वाचन लड्न आँट नपुगेको उनको भनाई थियो ।

गठबन्धनको ठूलो दल कांग्रेसको भरपूर सहयोग लिएर झापा २ मा माओवादीले निर्वाचन जित्नुपर्ने हुन्छ । थोरै जनमत भएको माओवादीका उम्मेदवारका लागि कांग्रेसको सम्पूर्ण मत खनिनेमा शंका छ । विभिन्न धारमा विभाजित कांग्रेस कार्यकर्ताहरु एक हुन सकेका छैनन् । स्थानीय तहको निर्वाचनमा उठेका कांग्रेसका उम्मेदवारलाई पार्टीभित्रै अन्तर्घात भएको अबस्थामा माओवादीका उम्मेदवारलाई पार्टीको सबै मत जाने कुरामा शंका रहेको कांग्रेसका कुमार भट्टराई बताउँछन् । उनले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् । ‘कांग्रेसको ५० प्रतिशत मत माओवादीका उम्मेदवारलाई नजान सक्छ ’ उनले भने ‘त्यो कुरा स्थानीय निर्वाचनबाट प्रमाणित भइसकेको छ ।’

तर, २ नं क्षेत्रस्तरीय निर्वाचन परिचालन मूल समितिका संयोजक सुधिरकुमार शिवाकोटी झापा २ मा कांग्रेसले निर्वाचनमा अन्तर्घात गर्न नसक्ने बताउँछन् । अरु क्षेत्रमा उठेका कांग्रेसका उम्मेदवारलाई जिताउन गठबन्धन दलहरुको सहयोग चाहिएकाले झापा २ मा कांग्रेसले अन्तर्घात गर्न नसक्ने उनले दावी गरे । यसअघि स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन बनाएर निर्वाचन लड्दा दुवै दलले समान मत पाएनन् । बिर्तामोड नगरपालिकाको निर्वाचनमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार कांग्रेसका भोजराज सिटौलाले १२ हजार ७ सय ६२ मत ल्याउँदा उपमेयरका उम्मेदवार माओवादीका सीपी कडरियाले ८ हजार ४ सय ५१ मत पाएका थिए ।

विपक्षी एमालेले भने धर्मशीला चापागाई र हरि रानालाई समान रुपमा लिएको छ । धर्मशीलाको ठाउँमा राना आउँदा आफूलाई ठूलो चुनौती नभएको एमालेका उम्मेदवार देवराज घिमिरेले प्रतिक्रिया दिए । ‘हरिजीको उम्मेदवारीलाई पनि मैले सहज रुपमा लिएको छु ’ उनले भने,‘ धर्मशीला र हरिजी उस्तै उस्तै हो ।’ एमालेको मत तानेर निर्वाचन जित्ने विपक्षी उम्मेदवार रानाको मनसाय पूरा नहुने घिमिरेको भनाई छ । अर्जुनधारा नगरपालिकाका पूर्व मेयर रानाको पकड अर्जुनधारा नगरपालिकामा राम्रो रहेको छ भने बिर्तामोडमा त्यति दर्बिलो उपस्थिति देखिएको छैन । गत स्थानीय निर्वाचनको भन्दा बढी मत आकर्षित गर्नसके मात्र गठबन्धनका उम्मेदवार रानाले विजय हासिल गर्नसक्ने देखिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्