झापा, असोज २६ । निर्वाचन आयोगले आगामी मंसिर ४ को निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिने समय दिएको छ।

आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

आयोगले आजै उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दैछ। उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा प्रकाशन गर्नेछ।अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन्। पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई आजै चिह्न दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ।

यसपटक प्रतिनिधिसभातर्फ २ हजार ५३१ जना र प्रदेशसभातर्फ ३ हजार ४८१ जनाको उम्मेदवारी परेको विवरण आयोगले मंगलबार सार्वजनिक गरेको छ। झापामा २०७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि १०१ र प्रदेशसभा निर्वाचनका लागि १०६ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गराएकामध्ये ३३ जना स्वतन्त्र छन् । प्रदेशसभा निर्वाचनमा भने स्वतन्त्र २४ जना रहेका छन् । कांग्रेस गठबन्धन र एमाले गठबन्धन दुवैका तर्फबाट बागी उम्मेदवारी परेको छ । बागी उम्मेदवारी फिर्ता नगर्न उम्मेदवार दर्ता गर्ने कतिपय कार्यकर्ताहरुले देश नै छोडेका छन् भने कतिपय सम्पर्कविहीन भएका छन् । पार्टीको दवावमा केही बागीले आज उम्मेदवारी फिर्ता लिने बुझिएको छ । सत्तारुढ गठबन्धनले सहमतिविपरीत दलका नेताहरूले दिएको उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको छ ।समयभित्र उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले कारबाही गर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्