बिर्तामोड, असोज २९ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इञ्चार्ज देवराज घिमिरेले झापाका जनता आफ्नो पार्टीको पक्षमा रहेको बताएका छन् ।

झापा क्षेत्र नम्बर २बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका घिमिरेले जतिसुकै चुनौती खडा भएपनि झापाका सबै क्षेत्रका जनता सूर्य चिन्हको पक्षमा रहेकोले नेकपा एमालेको विजय सुनिश्चित रहेको दावी गरे ।

चुनावी अभियानका क्रममा कार्यकर्ता तथा मतदातासमक्ष भेटघाट गर्दै आएका उम्मेदवार घिमिरेले एमालेको विरुद्वमा देशी, विदेशी शक्तिहरु लागेको भएपनि यसले कुनै असर नगर्ने बताए ।

सम्भव भएसम्म सबै दलहरु गठबन्धनमा रहेको, स्वतन्त्रताका नाममा जनतालाई विभिन्न भ्रम सृजना गर्दै उम्मेद्वार खडा गरिएको भएपनि जनताले यसलाई मंसीर ४ गते चिर्ने घिमिरेले बताए । राष्ट्र बनाउन, जनताको जीवनलाई उन्नत बनाउन, न्यायपूर्ण समाज निर्माण गर्न, प्रशासनलाई स्वस्थ र पारदर्शी बनाउन, बेरोजगारी अन्त्य गर्न, राष्ट्रिय उत्पादकत्व वृद्वि गर्नका लागि नेकपा एमालेको स्थिर सरकार आवश्यक रहेको उनको भनाई छ ।

नेकपा एमाले पार्टी परित्याग गरी गठवन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हरिकुमार राना घिमिरेको प्रतिस्पर्धी हुन् । राना घिमिरेभन्दा कमजोर उम्मेदवारका रुपमा देखिएको एमाले कार्यकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्